Logo

खाद्यको लापार्बाहीले राज्यकोषमा ढेड करोड क्षति



काठमाडौं, मंसिर २३। कर्णाली क्षेत्रमा उत्पादन भई काठमाडौं ल्याइएको विषादीरहित कर्णाली सिमी, फापर, उवाँलगायतका खाद्य तथा अन्न समयमा नै बिक्रीवितरण गर्न नसक्दा राज्यकोषको ढेड करोड बढी क्षति हुने अवस्था आएको छ ।

५ वर्षअघि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद गरेर ल्याएको ठूलो परिमाणका खाद्य वस्तुहरू समयमा नै बिक्रीवितरण गर्न नसक्दा कामै नलाग्ने अवस्थामा पुगेका छन् । जसका कारण राज्यकोषको १ करोड ५९ लाख रुपैयाँ गुम्ने अवस्थामा पुगेको हो । ती खाद्य सामग्री अहिले लिमिटिडको थापाथली गोदाममा नै थन्कन पुगेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कम्पनीको तथ्यांकअनुसार ६ सय ७५ क्विन्टल कर्णालीको सिमी बजारमा बिक्रीवितरण हुन नसक्दा कामै नलाग्ने अवस्थामा पुगेको छ । यसैगरी, फापर १ सय ५६ क्विन्टल र १ सय २५ केजी पनि थन्किएको छ । कम्पनीले कर्णालीको सिमी प्रतिकेजी १ सय ३० मा बिक्री गर्दा पनि बिक्री हुन सकेको छैन । कम्पनीको व्यवस्थापकीय क्षमता कमजोर हुँदा कर्णालीबाट ल्याइएका सिमी, फापरलगायतका खाद्य वस्तुहरू प्रभावकारी रूपमा बिक्रीवितरण हुन नसकेका हुन् ।

यसैगरी कम्पनीले फापर प्रतिकेजी ८० रुपैयाँमा उपलब्ध गराए पनि फापर पनि उल्लेख्य रूपमा बिक्री हुन सकेको छैन । कम्पनीले हाल बिक्री गर्दै आएको सिमी र फापरको मूल्यको हिसाब गर्दा १ करोड ५९ लाख मूल्य बराबरको सिमी र फापर बिक्री नभएर गोदाममै थन्किएको हो ।

यस्तै, कम्पनीका अनुसार १९ लाख ६ हजार २ सय ३० मूल्य बराबरको उवा र फापरको पिठो गोदाममै कुहिसकेको छ । खाद्य कम्पनीको गोदाममा उवा ११ क्विन्टल ७३ केजी र फापरको पिठो १ क्विन्टल ५६ केजी कुहिएको छ । कर्णालीको अमूल्य उवा प्रतिकेजी १ सय ५० मा बिक्री हुने गरेको छ ।

यता निजी क्षेत्रले सो कर्णाली क्षेत्रमा उत्पादन भएको सिमी प्रतिकेजी २ सय २० देखि २ सय ५० रुपैयाँमा सहज बिक्री गरिरहेका छन् । तर, खाद्य कम्पनीले भने निजी क्षेत्रको भन्दा प्रतिकेजी १ सय २० रुपैयाँ सस्तो अर्थात् प्रतिकेजी १ सय ३० रुपैयाँमा समेत बिक्री गर्न नसक्नुलाई कम्पनीको कमजोर व्यवस्थापनका रूपमा हेरिएको छ ।
कर्णालीका किसानलाई प्रोत्साहित गर्ने उद्देश्यले कर्णाली विशेष कार्यक्रमअन्र्तगत नेपाल सरकारको अनुदानमा खाद्य कम्पनीले आर्थिक वर्ष २०७२÷७३ मा कर्णालीमा उत्पादन भएको सिमी फापर र उवा बिक्रीका लागि काठमाडौं ल्याएको थियो ।राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्