Logo

देउवा-पौडेललाई मिलाउन कांग्रेसका मध्यमार्गी नेताहरुबीच वार्ता सुरु, देउवा ब्याक नहुने



काठमाडौं, २७ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकतर्फी रुपमा पेलेर पार्टी सञ्चालन गर्न खोजेको भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेलले हिजोको केन्द्रिय कार्यसमिति बैठक नै बहिष्कार गरेका छन् । पौडेलको यो बहिष्कारलाई लिएर सभापति देउवा र उनीबीचको सम्बन्ध सुमधुर छैन भन्ने पुष्टि गर्छ । पौडेल समूहले केन्द्रीय समितिको बैठकको मुख्य एजेण्डा महाधिवेशनको कार्ययोजना बनाउन माग थियो ।

महाधिवेशनको कार्ययोजना नल्याएको र बैठकको प्रमुख एजेण्डा महाधिवेशनलाई बनाउन पौडेल समूहले दिएको दबाबलाई सभापति देउवाले बेवास्ता गरेपछि पौडेल समूहले हिजोको बैठक बहिष्कार गरेको हो । तर, शीर्ष नेताहरुबीच यसरी सम्बन्ध बिग्रिँदा सम्बन्ध धेरै नराम्रो जाने भन्दै सभापति देउवा र बरिष्ठ नेता पौडेल दुवै समूहका दोस्रो वरियताका मध्यमार्गी नेताहरु उनीहरुको सम्बन्ध सुधार गर्नतर्फ लागेका छन् ।

स्रोतकाअनुसार अब यही मंसिर २९ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुबीच राम्रो सम्बन्ध होस भन्ने चाहनाका साथ मध्यमार्गी नेताहरु वार्तामा जुटेका छन् । पौडेल समूहको अनुपस्थितिको बावजुदपनि हिजोको बैठकमा उपनिर्वाचन अनुगमन समिति र केन्द्रीय प्रतिनिधिहरुबाट जानकारी एवं उपनिर्वाचनको समीक्षा, भ्रातृ सङ्घ एवम् शुभेच्छुक संस्थाका विधानको सैद्धान्तिक आधार तथा मापदण्ड निर्धारण र एकरुपता समितिको प्रतिवेदनलगायत प्रस्ताव प्रस्तुत गरिएको थियो ।

त्यस्तै नेपाल तरुण दलद्वारा आफ्नो केन्द्रीय समितिको समयावधि ६ महिना थप गरेको निर्णयलाई अनुमोदनसम्बन्धी प्रस्ताव र कालापानी लगायतको सीमा अतिक्रमणसम्बन्धी प्रस्ताव पनि प्रस्तुत गरिएको थियो ।

अहिलेपनि देउवा आफ्नो पूर्ववर्ती तयारी र योजनाबाट ब्याक नहुने बुझिएको छ । उनले विभाग गठनदेखि भातृ संगठनको नेतृत्व चयन गर्ने तयारी थालेका छन् । तर, सहमतिको लागि पौडेल समूहसँग हदैसम्म लचकता अपनाउने पनि उनले बताउँदै आएका छन् ।

सभापति देउवानिकट एक नेताले रिपोर्टर्स नेपाल डटकमसँग भने,”सभापति र बरिष्ठ नेता पौडेलबीच आज र भोलिभित्र कुरा मिल्यो भने मिल्यो, होईन भने केन्द्रिय समिति बैठक अब विधि र प्रक्रियाअनुसार अघि बढ्छ । सभापतिले अब ब्याक नहुने भनिसक्नुभएको छ ।”

File Photo/Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्