काठमाडौँ, १ पुस । तातोपानी भन्सारका निवर्तमान प्रमुख कृष्णबहादुर बस्नेतले ३० वर्षको अवधिमा १० करोड ५६ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेको भेटिएको छ । उक्त अवधिमा तलबभत्ता र अन्य सुविधाबापत उनले प्राप्त गरेको रकम ५१ लाखमात्रै हो ।
आम्दानी र खर्चको अनुपात गणना गर्दा करिब ३५ लाख रुपैयाँ बचत गरेका उनले छोराछोरी पढाउन मात्रै झन्डै ८७ लाख रुपैयाँ खर्च गरेका छन् । ०४५ मंसिर २९ देखि लेखापाल भएका उनले आफ्नो आर्जनलाई वैध बनाउनकै लागि ०४४ फागुन १६ देखि जागिर खाएको दाबी गरेका थिए । ०५४ असोज ८ गते शाखा अधिकृत र ०६७ वैशाख ३ गतेदेखि उपसचिव भएका उनले त्यस अवधिमा अर्थ मन्त्रालयअन्तर्गतका विभिन्न विभाग, भन्सार, राजस्व र कर कार्यालयमा काम गरेका थिए । बस्नेतले विराटनगर भन्सारमा काम गर्दा लिएको ‘घूस’ संखुवासभाको खाँदबारीमा बस्ने जेठान नवीनकुमार गौलीको खातामा जम्मा गरेको अख्तियार स्रोतले जनाएको छ । ‘गैरकानुनी आर्जनका उजुरीमा छानबिन गर्दा पैसा अन्यत्र लुकाएकाले शंकास्पद व्यक्तिको खातामा नभेटिने प्रवृत्ति थियो,’ स्रोतले भन्यो, ‘उपसचिव बस्नेतको पनि त्यस्तै भेटिएको छ ।’
आफ्नो आय वैध बनाउन उनले छोरी कृष्टिनाको कमाइ पनि आफ्नै भनी जोडेका थिए । छोरीले रोड सो कन्स्ट्रक्सनबाट ३ लाख ३६ हजार र सीई कन्स्ट्रक्सनबाट ३ लाख ८५ हजार रुपैयाँ पारिश्रमिक बुझेको खुलेको छ । बस्नेतले सीईका शम्भु फुयालसँग पनि कारोबार गरेको भेटिएको छ । बस्नेतले विराटनगरमा दुईवटा र काठमाडौंमा पनि घर बनाएका थिए । श्रीमती सविता गौलीको नाममा उनले मोरङको विराटनगर नगरपालिकामा बनाएको घर ०६४ माघ २७ गते ५० लाखमा बेचेका थिए । उनले आफ्नी काकी कृष्णकुमारी बस्नेतको नाममा संयुक्त जग्गा किनेका थिए । त्यो जग्गा ०६९ भदौ ५ मा बेचे । जग्गा बेचेर त्यतिबेला उनले ५६ लाख आर्जन गरेका थिए । ५६ लाखमध्ये ६ लाख ४२ हजारको स्रोत खुलेको थिएन ।
कान्तिपुर दैनिकबाट