काठमाडौँ, ८ पुस । रातको करिब १२ बजेको थियो, शनिबार । बाहिरबाट कसैले ढोका ढकढक्यायो । गाउँपालिका अध्यक्ष भएकाले कोही छिमेकी केही कामका लागि आएको होला भन्ने लाग्यो । श्रीमती इलाले ढोका खोलिन् । मुखमा कालोपट्टी लगाएकाको एक हूल घरभित्र छिरे । मध्यरात एक्कासि घरमा त्रासदी छायो । उनीहरूले धीरबहादुर शाहीलाई ‘राजनीतिक गफगाफ छ, हामीसँग हिँड्नुस्’ भन्दै कर गर्न थाले ।
श्रीमती इलाले नलग्न अनुनय गरिन् । उनको केही लागेन, लैजाने नै भए । उनी पछि लागिन्, श्रीमान् संगै । करिब २ घण्टा टाढाको जंगलमा पुगेपछि उक्त समूहले इलालाई घर फर्कन भन्यो । नफर्के ‘श्रीमानई जे पनि हुन सक्ने’ चेतवनी दियो । मनले नमाने पनि उनी फर्कन बाध्य भइन् । ठाँटीकाँध गाउँपालिका अध्यक्ष शाही भने अपहरणमा परे । ५६ वर्षीय शाहीले त्यसपछि आफ्नो जीवनमै पहिलो पटक भयपूर्ण यात्रा थाले । ‘जंगलैजंगल, त्यसमाथि बाक्लो हिउँ,’ अपहरणमुक्त भएपछि शाहीले भने, ‘यो यात्रा त मेरो जीवनमा अविस्मरणीय नै भयो ।’ द्वन्द्वकालको त्रासदीबाट उनी परिचित थिए । यस्ता समूह उनले त्यसबेला नदेखेका होइनन् । तर, व्यवहार कस्तो होला, के गर्ने हुन् भन्ने चिन्ता भयो । उनका दुवै मोबाइल फोन समूहले नियन्त्रणमा लिएपछि आफ्नाबारेमा कसैलाई पनि खबर गर्न नसक्ने अवस्था भयो । अघिपछि ३० र ३२ जनाको हतियारधारी समूह, बीचमा शाही । मध्यरातको चिसो चिर्दै उनले राति करिब साढे १२ बजे घरबाट पाइला अघि सारेका थिए । उनले अपहरणको कारण सोधे, जवाफ आयो, ‘राज्यसँग बदला लिन तपाईंलाई अपहरण गरेका हौं ।’ उनीहरूले अन्य स्थानीय तहका जनप्रतिनिधिलाई पनि यसैगरी अपहरण गर्ने योजना सुनाए । राज्यले पक्राउ गरेकाआफ्ना नेता–कार्यकर्ताको रिहाइका लागि दबाब दिन पनि अपहरण गरिएको उनीहरूको भनाइ थियो । ‘व्यवहार राम्रै गरेकाले भने उतिसारो डर लागेन,’ उनले भने, ‘तर कहाँ लैजान्छन्, कति समय राख्छन् भन्ने चिन्ता भने लागिरह्यो ।’
बाटो कट्दै गयो, उज्यालो पनि भयो । उनीहरूले मुखको कालोपट्टी पनि खोले । सबै अपरिचित अनुहार थिए । उनको मनमा केही चिसो भने पस्यो । तैपनि खुरुखुरु उनीहरूसँग हिँड्नुको विकल्प थिएन । बीचमा उनीहरूले एक ठाउँमा शाहीलाई भात खान दिए, उनीहरूले भने खाएनन् । १८ घण्टा लगातार हिँडेपछि उनको खुट्टामा फोका उठेका छन् । शरीरमा थकान उत्तिकै छ । ‘बूढो मान्छे, हतार–हतार हिँड्नुपर्ने, कम्ती दुःख भएन,’ उनले भने, ‘अहिले पैताला यताउता गर्न पनि मिलेको छैन ।’ हिमपात भएको ठाउँ हिँडाएकाले चिसो निकै भएको उनले बताए । काँडाले घोच्दा जीउमा जताततै कोतरिएको छ । आर्थिक अनियमितता गरेको र आफ्नो पार्टीविरुद्ध सुराकी गरेको आरोपमा नेत्रविक्रम चन्द समूहले शाहीलाई अपहरण गरेको थियो । प्रहरीले करिब १९ घण्टापछि आइतबार साँझ ६ बजे कालीकोटको शुभकालिका गाउँपालिकाको छाती जंगलबाट उनलाई अपहरणमुक्त गरेको थियो । उक्त जंगल क्षेत्र कालीकोट सदरमुकाम मान्मबाट पूर्वतर्फ करिब ४ घण्टा पैदल दूरीमा पर्छ । अपहरणमुक्त हुँदाको क्षण निकै त्रासदीपूर्ण भयो । अपहरणकारी समूहले उनलाई छातीको जंगलमा पुर्याएका थिए । भीरको गोरेटो । साँझको समय । प्रहरीले घेरा हालिसकेको रहेछ । त्यो थाहा पाएपछि उनीहरू भाग्न खोजे । प्रहरीले एक्कासि फायर खोल्यो । ‘पूरै अँध्यारो थियो, म भित्तामा ओत लागें, उनीहरू कता तितरबितर भए थाहा भएन,’ उनले भने, ‘नजिकै आएका प्रहरीलाई म अध्यक्ष हुँ भनेपछि समातेर आफूसँग लिए ।’ रातारात प्रहरीसँग कालीकोट पुगेको उनले बताए ।
अपहरणपछि शाही अहिले दैलेख प्रहरीको सुरक्षामा छन् । शाही अपहरण भएको खबर प्रहरीले बिहान करिब ५ बजे पाएको थियो । लगत्तै सुर्खेतस्थित प्रदेश प्रहरी कार्यालयले सम्भावित सबै इकाईलाई निगरानी राख्न आदेश दिएको थियो । प्रदेश प्रहरी प्रमुख डीआईजी पूर्णचन्द्र जोशीका अनुसार शाहीको खोजीमा १ सय ६० जना प्रहरी परिचालन गरिएको थियो । कालीकोटबाट खटिएको प्रहरी टोलीले सकुशल अपहरणमुक्त गरेको उनले बताए ।
कान्तिपुर दैनिकबाट