विराटनगर, ११ पुस : लामो समयदेखि अव्यवस्थित रहेको पार्किङ समस्या हल भएको छ । विराटनगर महानगरपालिका–४ स्थित नेपाल आयल निगम १ नं प्रादेशिक कार्यालयमा इन्धन लिन आउने र जाने ट्याङ्करहरुले पार्किङ गर्ने समस्या व्यहोरिरहेका थिए । पूर्व क्षेत्रलाई इन्धन बिक्री गरिरहेको निगमले लामो समयदेखि पार्किङको समस्या झेलिरहेको थियो भने पार्किङका लागि उपयुक्त जग्गाको खोजी निगमले गरिरहेको थियो ।
निगमका प्रमुख अशोक साहले स्थानीय वासुदेव रेग्मीको नाममा रहेको जग्गा १८ कठ्ठा जग्गा भाडामा लिएपछि पार्किङको समस्या हल भएको निगमका प्रमुख साहले जानकारी दिए । जग्गाको अभाव कोशी लोकमार्ग अर्थात् धरान विराटनगरको छ लेनको सडकको दुई लेन ट्याङ्करले नै प्रयोग गरिरहेको थियो । कहिलेकाहीँ ट्याङ्करको लाइन निगमदेखि दक्षिण र उत्तरतर्फ लामो लाइन लाग्ने गरेको थियो भने सवारी दुर्घटनाको सम्भावना पनि बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राकेश पोदारले जानकारी दिए।
पार्किङको समस्या हल भएपछि त्यस क्षेत्रमा सडक फराकिलो भएको, सवारी आवागमनमा सहज भएको र दुर्घटना हुने समस्या पनि टरेको प्रमुख पोदारले बताए । पछिल्लो समयमा विराटनगर महानगरपालिका क्षेत्रभित्रमा जथाभावी पार्किङ गर्ने सवारी साधनलाई कारवाही गर्न थालेपछि मानिस सचेत भएका छन् भने सडकमा हिँड्ने मानिस पनि सडक पेटीबाट हिँड्न थालेका छन् ।रासस