काठमाडौ, १५ पौष । देशभर चीसो बढेको छ । मंगलबार देशका अधिकांश भागमा घाम लागेन । तराईका अधिकांश स्थानमा कुहिरो लागेको छ ।
देशको पश्चिमी तथा मध्य भु–भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भु–भागमा मौसम सफा रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भागमा भु–भागमाहरुको केही स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ ।
बुधवार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही पश्चिमी र पूर्वी पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । उच्च पहाडी र हिमाली भू–भागमा हल्का देखि मध्यम खालको हिमपात पनि हुने संभावना देखिएको पुर्वानुमान महाशाखाले जनाएको छ ।
बुधबार राति देशैभर सामान्य बदली रहि देशका केहि स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी र हिमाली भु–भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।
बिहिबार दिउँसो देशभर सामान्य बदली रही देशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा मध्यम देखि भारी हिमपातको सम्भावना रहेको बताइएको छ ।
बिहिबार राती देशभर सामान्य बदली रही देशका केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा मध्यम देखि भारी हिमपातको संभावना रहेको पुर्वानुमान महाशाखाले जनाएको छ ।
मौसममा आउने बदली संगै चीसो रहिरहने हुनाले चिसोको असरका साथै अन्य प्रभावहरुबाट बच्न सर्तकता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।