Logo

ग्रामीण भेगमा बिजुली विस्तार



दमौली, १८ पुस : तनहुँको ग्रामीण क्षेत्रको रूपमा परिचित ऋषिङ गाउँपालिका–७ कोटदरवारस्थित कान्छेमा पहिलोपटक बिजुली बलेपछि स्थानीयवासी हर्षित भएका छन् । टुकीको भरमा बस्न बाध्य यहाँका स्थानीयवासी घरघरमा बिजुली पुगेपछि खुशी भएका हुन् ।

उज्यालो गाउँपालिका बनाउने अभियानअन्तर्गत गाउँपालिका र नेपाल विद्युत् प्राधिकरण गगनगौडाको सहयोगमा उक्त ठाउँका ५६ घरधुरीमा विद्युतीकरण गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । विद्युतीकरणका लागि उक्त ठाउँमा रु चार लाखको लागतमा २६ वटा पोल व्यवस्थापन गरिएको छ ।

त्यस्तै प्रसारण लाइनका लागि गाउँपालिकाले रु ११ लाख लगानी गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठका अनुसार बिजुली सुविधा नपुगेका अन्य ठाउँमा पनि क्रमशः विद्युतीकरण गर्दै जाने गाउँपालिकाको अभियान रहेको छ । मैनबत्ती र टुकीको भरमा बस्नुपरेको अवस्थामा पहिलोपटक बिजुली बाल्न पाइएको स्थानीयवासी कुमारी परियारले बताए।

कान्छे विद्युतीकरणको बिहीबार नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद अर्जुनप्रसाद जोशीले उद्घाटन गर्दै गाउँपालिकाको विकासको अभियानमा अगाडि बढेको बताए ।

केही समय अगाडि मात्रै सोही गाउँपालिका–४ भिरकोटका ३५१ घरधुरीमा बिजुली बलेको थियो । पालिङटार, राम्चे, सिरकोट, बरडाँडा, पिपलडाँडा, फरकस्वाँरा, कसुण्डे, डिहीगाउँमा बिजुली विस्तारका लागि गाउँपालिकाले रु ८० लाख लगानी गरेको थियो ।

नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका अनुसार जिल्लाका ८५ प्रतिशत घरधुरीमा बिजुलीको सुविधा पुगेको छ । केन्द्रका अनुसार देवघाट गाउँपालिका, ऋषिङ गाउँपालिका, बन्दीपुर गाउँपालिका, घिरिङ गाउँपालिका र व्यास नगरपालिकाका १२ हजार घरधुरी अझै पनि अन्धकारमा छन् ।

वितरण केन्द्रले गत वर्ष आँबुखैरेनी, बन्दीपुर, ऋषिङ गाउँपालिका र व्यास नगरपालिकाको एक हजार घरधुरीमा बिजुली विस्तार गरेको थियो । एघार केभीको ३२, ४४० भोल्ट (३ फेज) को ५.८, ४४० भोल्ट (२ फेज) को ७.८ र २०० भोल्ट (१ फेज)को २३ किमि लाइन विस्तार गरिएको छ । बिजुली विस्तारका लागि केन्द्रले गत वर्ष रु तीन करोड लगानी गरेको थियो ।

वितरण केन्द्रले विद्युतीकरणका लागि बन्दीपुरको साराङघाटमा आठ एमबिएको सवस्टेशन निर्माण गरिएको छ । उक्त सवस्टेशनबाट आँबुखैरेनीसम्म १९ किमि दूरीसम्म लाइन तानेर आँबुखैरेनीका विद्युत नपुगेका गाउँमा विद्युत् सेवा पु¥याइने छ । साथै सोही सवस्टेशनबाट नयाँ फिडर निकालेर देवघाट गाउँपालिकाका कोटा, वैदी, छिपछिपेलगायतका ग्रामीण बस्तीमा बिजुली सेवा पु¥याइने छ ।

त्यस्तै बुद्धसिं फिडरमार्फत आँबुखैरेनी गाउँपालिका वडा नं ५ र ६, बन्दीपुर गाउँपालिका–६ खहरे, व्यास नगरपालिका–१४ नाल्दीघाटलगायतका बुद्धसिं मार्गका छेउछाउका बस्तीमा विद्युतीकरण गरिनेछ । कार्यालयले आर्थिक वर्ष ०७५÷७६ मा १७ ठाउँमा नयाँ ट्रान्सफर्मर थप गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्