Logo

कांग्रेसका नेताको लडाईले नेता कार्यकर्तामा निराशा



पुष १८, काठमाण्डौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका, विभागको संख्या, भातृ संगठन गठन लगायतका विषयले विवाद चुलिदै गएको छ । गत मंसिर २६ गतेबाट सुरु भएको कांग्रेस केन्द्रिय कार्यसमिति बैठक बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले लगातार बहिष्कार गर्दै आइरहेका छन । नेताहरुले पटक–पटक गरेको सहमतीको प्रयास समेत असफल भएको छ । शीर्ष तहमा झगडा हुँदा तल्लो तहसम्मै नकारात्मक प्रभाव पर्न थालेको छ ।

नेपाली कांग्रेसको केन्द्रिय समिति बैठकले १४ औँ महाधिवेशन २०७७ साल फागुन ७ गतेदेखि १० गतेसम्म गर्ने निर्णय गरेको थियो । अहिले २८ वटा रहेको विभागलाई ४१ पुर्याउने निर्णय पनि भयो । भातृ संगठन नेपाल तरुण दलको अवधि ६ महिना थप गर्ने निर्णय पनि भयो । पुष ११ गतेको केन्द्रिय समितिले यि निर्णय गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर अर्थात संस्थापन इतर केन्द्रिय सदस्यहरु उपस्थित थिएनन् । सभापति शेरबहादुर देउवाले बहुमतको बलमा गरेको निर्णय सहमति, विधान र परम्पराविपरित भएको भन्दै पौडेल पक्षले निर्णय फिर्ता लिन दबाब दिइरहेको छ ।

तर देउवाले निर्णय फिर्ता गर्ने संकेत गरेका छैनन् । जसले गर्दा विवाद दिनप्रतिदिन बढिरहेको छ । दुई पक्षबीचको झगडाले पार्टी नै कमजोर बनेको नेताहरुको बुझाई छ । लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिलाई नजिकबाट नियाल्दै आइरहेका राजनीतिक विश्लेषक पुरञ्जन आचार्यका अनुसार अहिलेकै नेतृत्व र कार्यशैलीकै कारण पार्टी तहसनहस भएको हो ।

शीर्ष तहमा भइरहेको जुहारीले कांग्रेसको तल्लो तहसम्म नै नकारात्मक प्रभाव परेको छ । दलभित्र आन्तरिक विवाद हुनु समान्य नै हो । तर कांग्रेसको विवाद असामान्य बन्दै गएको छ । जसले गर्दा नेता कार्यकर्ता निराश बन्न थालिसकेको केन्द्रिय सदस्य नविन्द्रराज जोशी बताउँछन् ।

पार्टी विधि, विधान, अभ्यास र संस्कार समेत धुमिल पारेर नेतृत्वमा स्थापित हुने बाटोले कांग्रेसप्रति भावी पुस्ताले कस्तो अपेक्षा राख्ने भन्ने गम्भीर प्रश्न उठेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा निर्वाचनसम्बन्धी एजेन्डा राखेर बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बोलाउनुभएको थियो । तर बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष उपस्थित भएनन् । पौडेल पक्षको बैठक महाराजगन्जस्थित महामन्त्री शशांक कोइराला निवासमा बस्यो । यसरी दुई नेताको गुटगत भेला र बैठक हुनु पार्टीका लागि पक्कै पनि घातक हुने छ ।



प्रतिक्रिया दिनुहोस्