गुवाहाटी, पुस २० । विश्व क्रिकेटको संरक्षक संस्थाले टेस्ट क्रिकेटको फरम्याट परिवर्तन ल्याउन बहस चलाइरहँदा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली भने विपक्षमा देखिएका छन्। क्रिकेटमा निकै व्यस्त तालिकाको कारणसहित अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले पाँच दिवसीय टेस्टलाई चार दिन खेलाउन तयारी स्वरूप बहस थालिरहेको अवस्थामा शनिबार भारतीय क्रिकेट टोलीका कप्तान कोहलीले नयाँ शैली आवश्यक नभएको बताएका छन्। आइसिसीले सन् २०२३ को विश्व टेस्ट च्याम्पियनसिपपश्चात् टेस्ट क्रिकेटको आकारमा परिवर्तन ल्याउने तयारी गरे पनि देश र खेलाडीको मत भने बाझिन थालिएको छ।
टेस्ट क्रिकेटको विश्व वरीयतामा शीर्ष स्थानका कोहलीले हाल भइरहेको टेस्ट क्रिकेटको शैली परिवर्तन गरिन नहुने प्रतिक्रिया दिएका छन्। ‘डे–नाइट क्रिकेट बनाइनुपर्ने अवस्था थियो र जुन ठीक पनि छ,’ श्रीलंकासँग आइतबारको ट्वान्टी–२० क्रिकेटअगाडि कोहलीले भने, ‘तर टेस्ट क्रिकेटलाई चार दिनमा छोट्याउनु भनेको त्यसभित्र रोमाञ्चकता घटाउनु हो। त्यसैले उद्देश्य विलकुलै सही छैन। साथै उनले टेस्ट क्रिकेटको धरातलसमेत मेटिनसक्ने बताएका छन्।
‘हाल चार दिनमा छोट्याउने बहस चलेको छ,’ कोहलीले भने, ‘यो बहसको शृंखला चारबाट तीन दिनमा घटाइनुपर्ने पनि चल्न सक्छ। फेरि, यसलाई कसरी सम्बोधन गर्न सक्छौं। यद्यपि, म परिवर्तनका लागि वाधक भने होइन। तर, टेस्ट क्रिकेट जसरी सुरुआत भएको थियो, त्यसको महत्व भने घट्नेछ।’ क्रिकेटलाई व्यवसायीकरण गर्न डे–नाइट खेल्ने अवधारण ल्याइनु सही भए पनि दिन नै घटाउनुपर्ने अवस्था नआएको धारणा व्यक्त गरेका छन्।