काठमाडौं, २२ पुष । सरकारले आगामी ३ महिना भित्रमा विदेशबाट नै पुनः श्रम स्वीकृति दिने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर यादवले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी दिएका हुन् । मन्त्री यादवले श्रमिकका सुविधालाई मध्यनजर गर्दै श्रमिक बैंक खोल्नका लागि योजना अघि सारेको पनि बताए ।
मन्त्री यादवले सरकारले वैदेशिक रोजगारीका लागि युरोपको श्रम बजारसमेत खोजीरहेको जनाए । गत मङ्सिर ४ गते भएको मन्त्रीमण्डल पुनर्गठनका क्रममा तत्कालीन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विस्टलाई विस्थापित गरेर आएका यादवले सामाजिक सुरक्षा योजनालाई प्रभावकारी रुपमा कार्यन्वयन गर्ने पनि प्रतिवद्धता जनाए ।
उनले सामाजिक सुरक्षा कोषमा १५ हजार रोजगारदाता र १ लाख श्रमिक आवद्ध गराउने योजना बनाएको पनि बताए । सरकारले गत वर्ष मंसिर ११ गते समाजिक सुरक्षा कार्यक्रम घोषणा गरेर गत साउन १ गतेदेखि कार्यान्वयनमा लगेको थियो । तर श्रममन्त्री परिवर्तन भए पछि समाजिक सुरक्षा योजनामा सहभागी हुन नीजि क्षेत्रले तदारुकता देखाएका छैनन् ।
चालू आर्थिक वर्षमा ६० हजार बेरोजगारलाई न्युनतम सय दिनको लागि प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगारी दिने योजना रहेको श्रम मन्त्रालयले जनाएको छ । त्यस्तै व्यवसायिक तथा सिपमुलक तालिम सन्चालनका लागि एकीकृत नीतिको प्रारुप तयार गरिने मन्त्रालयले जनाएको छ ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम