Logo

इराकबाट नेपालीलाई उद्धार गर्ने संयन्त्र नै छैन



काठमाडौँ, २३ पुस । इराकको राजधानी बग्दादस्थित एक इराकीको घरमा गोरखाकी माया गुरुङ चार वर्षदेखि घरेलु कामदार छिन् । मंगलबार दिउँसो फोन सम्पर्कमा भेटिँदा उनी बच्चालाई खाना खुवाउँदै थिइन् । बच्चा कराइरहेको सुनिन्थ्यो । ‘यो घरमा ५ जना साना बच्चा छन् । खाना खुवाउनै गाह्रो छ,’ उनी भन्दै थिइन्, ‘यिनीहरूलाई खाना खुवाइसकेपछि मालिकमालिक्नीलाई खुवाउनुपर्छ ।’ फोन गरेका बेला उनका ‘मालिकमालिक्नी’ बाहिर निस्किएका थिए ।

गत शुक्रबारदेखि इराकमा अशान्त वातावरण बनेको उनलाई थाहा छ । ‘छतमा लुगा सुकाउन र निकाल्न जाँदा सडकमा मान्छे कराइरहेको देख्छु । सडकमा आगोको मुस्लो देखिन्छ । बेलाबेला बम पड्किएको आवाज सुनिन्छ,’ उनले सुनाइन् । उनलाई मालिक्नीले इरानका ठूलो नेता मारिएकाले तनाव बढेको भनेकी छन् । ‘मालिक्नीले घरमा काम गर्दा कुनै डर हुँदैन, केही भए नेपाल पठाइदिन्छौं भनेर सम्झाइरहेकी छन्,’ उनले भनिन् । त्यही घरमा गोरखाकै मनमाया गुरुङ र फिलोपिनो युवती पनि काम गर्छन् । ‘भारत, श्रीलंका, यूएई हुँदै बग्दाद आइपुगेकी हुँ । असल श्रीमान् परिदिएको भए यस्तो देशमा किन आउनुपर्थ्यो ’ मायाले भनिन्, ‘यहाँ अहिले मासिक ६ सय डलर तलब पाइरहेकी छु । काठमाडौंमा छोरीहरूलाई पढाउँदै छु ।’

माया इराकी भाषा बोल्छिन् । ‘इराकी टेलिभिजनमा आउने समाचार हेर्दा निकै डर लाग्छ । इरान र अमेरिकाबीच लडाइँ भए बग्दादमा क्षति पुग्छ भन्छन्,’ उनले भनिन् । उनलाई युद्ध सुरु भइहाले कसलाई गुहार्ने, कहाँ गएर बस्ने, कसरी नेपाल फिर्ने भन्ने तनाव छ । मनमायाले भने जे होला देखिएला भन्ने अवस्थामा रहेको बताइन् । दुई महिनाअघि मात्रै बिदामा नेपाल आई फर्केकी उनले भनिन्, ‘हामीलाई त सरकारले गैरकानुनी भन्छ । यहाँ त दूतावास पनि छैन ।’ बग्दादमा नेपालीहरू तीन क्षेत्रमा काम गर्छन् । ग्रिन जोन, रेड जोन र घरभित्र । यी तीनवटा क्षेत्रमा काम गर्ने नेपालीबीचमा समन्वय र भेटघाट दुर्लभ छ । सरकारी कार्यालय, दूतावास र अमेरिकी सैन्य क्याम्पभित्र काम गर्नेहरू बाहिर निस्कनै पाउँदैनन् । रेड जोनमा रहेको होटलमा काम गर्नेहरू पनि भित्रै बस्छन् । घरेलु कामदारबीच पनि भेटघाट कठिन छ । ‘बाहिर काम गर्ने कोही कोही साथीसँग भेट हुन्छ,’ ९ वर्षदेखि बग्दादमा रहेका जीतमान गुरुङले भने, ‘हामी संगठित छैनौं ।’

सुरक्षित मानिएको इराकभित्रको अर्को राज्य कुर्दिस्तानमा भने केही नेपाली संगठित छन् । ‘बग्दाद क्षेत्रमा कति नेपाली छन्, कुन कम्पनीमा छन्  सबै अनुमान हो । यकिन थाहा छैन । उनीहरू असंगठित छन् । दुई–चार जनासँग सम्पर्क हुने हो,’ गैरआवासीय नेपाली संघ इराकका अध्यक्ष लालकाजी गुरुङले भने, ‘कुर्दिस्तानका अर्विल र सुलेमानी क्षेत्रमा रहेका नेपाली संगठित छन् ।’ गुरुङका अनुसार परिस्थिति बिग्रिएर उद्धार गर्नुपर्‍यो भने निकै जटिल छ । सम्भावित खतरालाई मध्यनजर गरी सरकारले दरिलो उद्धार संयन्त्र बनाएको छैन । कुवेतस्थित नेपाली दूतावासले बग्दाद, अर्विल र सुलेमानी क्षेत्रमा रहेका केही नेपालीलाई मात्रै टेलिफोन सम्पर्क गरी पछिल्लो विवरण बुझिरहेको छ ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्