काठमाडौं, २४ पुष । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले भूमि व्यवस्थापनको काममा ढिलाई गर्न नहुने बताएका छन् । मन्त्री गुरुङले किसानहरुलाई भूमिहिन हुन नदिन पनि भूमिको उचित व्यवस्थापन गर्ने कामलाई केन्द्रित हुनुपर्ने पनि स्पष्ट पारे ।
उनले महिला सशक्तिकरणको अभियानलाई सफल बनाउने गरी भूमि व्यवस्थापनको कामलाई अघि बढाउने योजना पनि अघि सारे । महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउन पनि उनीहरुको जमिनमाथि पूर्ण स्वामित्व स्थापित गराउने अभियानलाई अघि बढाउन जरुरी छ,’ हिजो (बुधबार) काठमाडौंमा आयोजित ‘किन ओझेलमा भूमि सुधार ?’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।
उनले भने,‘महिलाहरुलाई उद्यमशीलतासँग जोडेर अघि बढाउन पनि उनीहरुको भूमिमाथिको पूर्ण वामित्वलाई स्थापित गरेर अघि बढनुको विकल्प छैन ।’ उनले महिलाहरुको भूमिमाथि पूर्ण स्वामित्व स्थापित गराउन आवश्यक सुझाव दिन पनि विज्ञहरुलाई आग्रह गरे । मन्त्री गुरुङले सरकारी जग्गा भाडामा लिएर दुरुपयोग गर्ने अभियानलाई तत्काल रोक्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।
कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका सांसद रामनारायण बिडारीले भूमिको उचित व्यवस्थापनका लागि ‘भू उपयोग नीति’ संशोधन गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेका थिए । त्यसैगरी अर्थविद् हरि रोकाले गरिखाने समुदायको पहुँच हुने गरी जमिनको व्यवस्थापन गर्ने काममा जोड दिन सरकारलाई सुझाव दिएका थिए ।