Logo

काँग्रेसभित्र आफूविरोधी एकढिक्का भएपछि देउवा लचिलो



काठमाडौं, २४ पौष । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पार्टीभित्रको पछिल्लो निर्णयबाट पछि हट्ने भएका छन् । उनले जिल्ला सभापतिहरुलाई बुढानिलकण्ठस्थित निवासमा बोलाएर सहमतिका साथ बढ्न लचिलो हुने बताएका हुन् ।

भेलामा सहभागी नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसीका अनुसार सभापति देउवाले आफू सबैलाई मिलाएर अघि बढ्ने बताएका छन् । पौडेल पक्षले बहिष्कार गरेको काँग्रेस केन्द्रीय समितिको ११ पौषको निर्णयहरु परिमार्जन गर्न तयार रहेको धारणा देउवाले राखेको उनले बताए । देउवाले सिंगो काँग्रेस एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

देउवाले केन्द्रीय समिटिबाट १४ औं महाधिवेशनको कार्यतालिकासहित मिति घोषणा गरेका थिए । मिति यथावत् राखेर कार्यतालिका फेरबदल गर्नेबारे देउवा पक्षले छलफल अगाडि बढाइसकेको छ । आजको बैठकमा पनि यस्तै धारणा राखेको बुझिएको छ ।

पौडेल पक्षले महाधिवेशन मंसिरमै गर्नुपर्नेमा जोड दिइरहेको छ । ७ फागुन २०७७ सालका लागि काँग्रेसको महाधिवेशनको मिति तोकिएको छ ।

देउवा निवासमा लञ्चसहित बसेका जिल्ला सभापतिहरुले यसअघिको भेलाले तयार गरेको पाँचबुँदे ज्ञापनपत्र समेत बुझाए । उनीहरुले गुट अन्त गरी काँग्रेसलाई एक ढिक्का बनाउने गरी सहमतिमा बढ्नुपर्नेमा जोड दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्