Logo

सेतु कुकुरको हत्यामा संलग्न ओलीले गरे मिडियासामू क्षमायाचना



काठमाण्डौँ, २६ पुष । काठमाडौं तीनकुने सुविधानगरस्थित् हेवन रेस्टुरेन्ट भएको भवनको पार्किङमा विगत दुई वर्षदेखि बस्दै आएको ‘सेतु’ नाम गरेको कुकुरको हत्यामा संलग्न दोलखा बिगु गाउँपालिकाका उपाध्यक्ष सञ्जीव ओलीले आज क्षमा याचना गरेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा ओलीले आफ्नो तर्फबाट क्षमा याचना गरेका हुन् । सेतु कुकुरको हत्या हुँदा आफूपनि सहभागी भएपनि मिडियामा आएजस्तो रड प्रहार गरेर आफूले कुकुरको हत्या भने नगरेको स्पष्ट पारे ।

गत मंसिर २१ गते सेतु कुकुरको हत्या भएको थियो । काठमाडौं शान्तिनगर बस्दै आएका सञ्जीव ओली र उनकी पत्नी प्रीती शेर्पासहित सात जनाको समूहले उक्त सेतु कुकुरको हत्या गरेको भन्दै पशु अधिकारसम्बन्धी विभिन्न दश संघ–संस्थाहरुले हत्यामा संलग्नहरुलाई तत्काल कारबाहीको माग गरेका थिए ।

सोहीअनुसार उपाध्यक्ष ओलीले आजको पत्रकार सम्मेलनमार्फत क्षमा मागे हुन् । आफूले पनि घरमा कुकुर पालेको सुनाउँदै ओलीले आफूबाट आवेशमा गल्ती भएको स्विकार गरे । सेतु कुकुरको हत्या हुनुपुर्वको घट्ना स्मरण गर्दै ओलीले सुनाए,‘मेरो छोरालाई सेतु कुकुरले टोकेपछि म अनियन्त्रित भएको थिएँ । मेरो छोरालाई टोकेपछि थाहा भयो कि त्यो कुकरले पछिल्लो समय कम्तिमा ३९ जनालाई टोकिसकेको रहेछ, रेबिजको डरले मेरो अरु बच्चालाई पनि यसले फेरि टोक्छ भन्ने डरले मैले सेतु कुकरलाई हिर्काउनमात्र खोजेको थिएँ । तर, दुर्भाग्यवस त्यो कुकुरको निधन भयो । आज आएर मलाई त्यो गल्तीको महसुस भएको छ ।’

उनले आफूले उक्त सेतु कुकुरलाई संगठित अपराध नै गरेर मारेको भन्ने आरोपमा सत्यता नभएको जिकिर गरे । यद्धपी आफू पनि उक्त कुकुरको हत्या हुँदा त्यहाँ उपस्थित् भएकोले सो घट्नाको दोषी आफूपनि भएको उनको स्पष्टोक्ति थियो ।

‘गैरसरकारी संस्थाहरु र खासगरी पशु अधिकारकर्मीहरुले पत्रकार सम्मेलन गरेर एकलौटी रुपमा ममाथि आरोप लगाउने काम भयो ।’–उनले अघि थपे,‘तथ्यविना मेराबारे भ्रम फैलिएको छ । यसले मलाई दुःखी तुल्याएको छ ।’

यद्धपी उनले पशु अधिकारकर्मी र गैरसरकारी संस्थाको कामलाई आफूले खुलेर प्रशंसा गर्ने बताए । उनले विभागीय मन्त्रालय (पशु मन्त्रालय) को लापरवाही रहेकोबारे आफूले पनि ध्यानाकार्षण गराएको सुनाए । ‘बाटो तथा खुल्ला सडकमा रहेका छाडा गाई, कुकर तथा अन्य जनावरको संरक्षण अहिलेसम्म नभएकोबारे मैले पनि आफ्नो ठाउँबाट सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छु ।’–ओलीले सुनाए,‘पशु अधिकारकर्मी र गैरसरकारी संस्थासित मैले पनि समन्वय गरें, त्यही भएर मैले आफ्नो गल्ती स्विकार गर्दै आज क्षमा व्यक्त गरेको छु ।’

उनले यस प्रकार जनावर हत्या कसैले नगरुन भन्ने पनि कामना गरे । त्यस्तै, पशुमाथि हुने कुटपिट, हत्या लगायतका घटना न्यूनीकरण गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

त्यसैगरी कार्यक्रममा एसपिसिए नेपालका अध्यक्ष बिकेश श्रेष्ठले आफूहरु पशुअधिकार र उनीहरुको संरक्षणको बारेमा बिस्तारै बिस्तारै सचेतना कार्यक्रम अघि बढाईरहेको सुनाए । पुशअधिकारको क्षेत्रमा सन्तोषजनक काम भैरहेको पनि उनले सुनाए । जनावरको हत्यामा संलग्न भएकाहरुको प्रमाण फेला नपर्दा अपराधीहरु उम्किने गरेकोपनि उनले स्पष्ट पारे ।

सेतु कुकुरको हत्यामा संलग्न भएकाहरुलाइै सिटि टिभी फुटेजमार्फत पत्ता लगाउन सफल भएको सुनाउँदै आज आएर ओलीले क्षमाचायना गरेको उनले सुनाए । तर, अहिलेपनि उक्त केश समाप्त नभएको उनले जिकिर गरे । सेतु कुकुरले न्याय पाउनैपर्ने उनको भनाई छ ।

एसपिसिएकी सदस्य बिना पन्तले सेतु कुकुर मारिएपछि जाहेरी दिन जाँदा तीनकुने प्रहरी बृत्तले जाहिरी नलिएको गुनासो पोखिन् । साथै, अदालतमा जाँदासमेत आफूहरुको जाहेरी दर्ता नगरेकोमा उनले दुःख व्यक्त गरिन् । आजको पत्रकार सम्मेलनले कुकुर मार्नुभन्दा अगाडि प्रत्येक मानिसले दश पटक सोच्नुपर्नेतर्फ पनि सचेत गराईन् । उनले थपिन्,‘यस प्रकारको घटना समाजमा फेरि नदोहोरियोस र कुकरहरुलाई माया सद्भाव देखाउनुपर्छ ।’

उनले मुलुकी अपराध संहियता–२०७४ को दफा २९० अनुसार पशुपंछीप्रति निर्दयी व्यवहार गर्न नहुने र सो गर्ने वा गराउनेलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेकोतर्फ सबै सचेत हुनुपर्ने उनको धारणा छ । कार्यक्रममा पशुअधिकारकर्मी कृष्ण गुरुङले पनि आफ्नो धारणा राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्