काठमाडौँ, २७ पुस । आबुधाबीमा मृत्यु भएका नारायणप्रसाद पोखरेलको शव लिन नवलपरासीको शिवघाटबाट काठमाडौं आइपुगेका उनका बुबा विनोद त्यस बिहान शोकले त्यसै गलेका थिए । छिमेकी सञ्जीव खनाल र आफन्तसँग बिहानै साढे ७ बजे विमानस्थल पुगेका उनले त्यहाँ एकैछिन सुस्ताउने ठाउँ पनि पाएनन् । छटपटिँदै केही घण्टा कुरेपछि कफिन आइपुग्यो ।
२०७६ असोज १३ मा कार्यस्थलमै सवारी दुर्घटनामा परेर मृत्यु भएका नारायणप्रसादको शव एक सातापछि नेपाल आइपुगेको थियो । सानो ट्रलीमा कफिनलाई विमानस्थल बाहिर निकाल्नुपर्ने भयो । त्यस्तो ट्रली उनले कहिल्यै गुडाएका थिएनन् । दुइटा ट्रलीमा कफिनलाई सन्तुलन मिलाएर यात्रुको भीड छिचोल्दै बाहिर निस्कँदा एक यात्रुको सुटकेसमा छोइयो । ती यात्रुले रिसाएझैं गरेर उनलाई हेरे । विनोदले शोकको कुरा बताउँदै माफी मागे । ‘ट्रलीलाई सिधा गुडाउँदा ढोकामा कफिन ठोकिँदो रहेछ । छड्के पारेर कफिनलाई बाहिर निकाल्दा गाह्रो हुँदो रैछ,’ त्यति बेला सँगै रहेका सञ्जीवले सुनाए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औसतमा सरदर तीनवटा कफिन भित्रिन्छन् । विमानस्थल कफिन ओसार्न सजिलो हुने ट्रलीको व्यवस्था छैन । आफन्त र परिवारजन भेट्न आतुर यात्रु, सुटकेस र झोला लतार्दै बाहिरिरहेका विदेशी पर्यटकलाई धक्का दिँदै विनोदले जसरी कफिन बाहिर निकाल्नुपर्छ । यही समस्याका सम्बन्धमा परेको रिटमा सुनुवाइ गर्दै हालै सर्वोच्च अदालतले यसलाई असंवेदनशीलता र गैरजिम्मेवारपनाका रूपमा चित्रण गरेको छ । सरकारी थिंक ट्यांक नीति अध्ययन प्रतिष्ठानका कार्यकारी निर्देशक एवं वैदेशिक रोजगारीको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका गणेश गुरुङले सुटकेस ओसार्ने ट्रलीमा कफिन ल्याउनु लज्जास्पद रहेको बताए ।
‘विमानस्थलमा न मृतकका परिवारलाई सुस्ताउने ठाउँ छ, न कफिन ल्याउने अलग्गै ट्रली छ । यो त विदेशमा काम गरिरहेका लाखौं कामदार र तिनले स्वदेश भित्र्याउने अर्बौं रुपैयाँ रेमिट्यान्सको अपमान हो । कुल गार्हस्थ्य उत्पादनमा ३० प्रतिशत हाराहारी योगदान विदेशमा रहेका कामदारले पठाउने विप्रेषणको छ । केही समयअघि गैरआवासीय नेपाली संघका तत्कालीन अध्यक्ष शेष घलेले कफिन ओसार्न मिल्ने खालको ट्रली व्यवस्था गरिदिने वाचा पनि गरेका थिए । तर विमानस्थल प्रशासनले कागजी प्रक्रियाको लम्मेतान कुरा बताएपछि त्यो काम अघि बढेन । गुरुङले आक्रोश पोखे, ‘३३ किलो सुनचाहिँ सजिलै भित्रिन्छ तर गरिब नेपाली कामदारको कफिन भने बाहिर ल्याउन त्यति विधि सास्ती हुने ’ दूरदराजका गाउँबाट आएकाले दुइटा सुटकेस ओसार्ने ट्रलीमा सन्तुलन मिलाउन नसकेर कफिन झरेको दृश्य गुरुङले देखेका छन् । उनले सुनाए, ‘एक जना महिला छोराको शव लिन एक्लै आएकी थिइन् । उनले कफिन राखिएका दुइटा ट्रलीको सन्तुलन मिलाउन नसकेर पाएको दुःख देखेर मेरो आँखाबाटै आँसु नै आयो ।’
पर्यटनमन्त्री भएलगत्तै योगेश भट्टराईले निजी क्षेत्रका पर्यटन व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम राखेका थिए । पर्यटनको विकास र विस्तारमा केन्द्रित छलफलमा हिमालय उद्धार एसोसिएसनका अध्यक्ष नरेन्द्रदेव भट्टले भनेका थिए, ‘देशले पर्यटन भ्रमण वर्ष मनाउँदै छ । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पर्यटक बाहिरिने र खाडीमा मरेका कामदारको कफिन ओसारिने बाटो एउटै छ । खुसी हुँदै घुम्न निस्केका वा स्वदेश फर्केका मान्छे र कफिनलाई ट्रलीमा गुडाउँदै बाहिर निस्केका आफन्त र परिवारजनको आँसु एकै ठाउँमा देखिनु सुहाउने कुरा भएन ।’ भट्टको कुराले हलमा सन्नाटा छायो तर त्यसपछि यो विषय पनि सेलायो ।
कान्तिपुर दैनिकबाट