काठमाडौँ, २८ पुस । सवारी धनी तथा चालककोे सामान्य लापरबाहीका कारण मोटरसाइकल चोरीका घटना अपत्यारिलो ढङ्गले बढेको छ । काठमाडौंँ उपत्यकामा प्रत्येक महिना एक सयदेखि १२० वटासम्म मोटरसाइकल चोरी हुने गरेको छ ।
मोटरसाइकल चोरी तथा हराउनुमा सवारी धनी तथा चालकको कमजोरी देखिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । असुरक्षित पार्किङ, व्यस्तताका नाममा साधनप्रतिको बेवास्ता र ह्यान्डिल लक नगर्नेजस्ता गल्तीले मोटरसाइकल चोरी हुने गरेको छ ।
ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकाल मोटरसाइकल तथा स्कुटर चोरीमा सङ्गठित गिरोह नै सक्रिय भएकाले सवारी धनी तथा चालकहरू स्वयं सचेत हुनुपर्ने बताए । विभिन्न स्थानबाट फेला परेका २० वटा मोटरसाइकल सोमबार सवारी धनीलाई जिम्मा लगाइएको छ । पाँच वर्षअघि चोरी भएको मोटरसाइकल फेला पर्दा सवारी धनीहरू खुसी देखिन्थे । चोरीका मोटरसाइकलको नम्बर प्लेट र स्वरूप परिवर्तन गरिने भएकाले झट्ट हेर्दा ट्राफिक प्रहरीले समेत पत्ता लगाउन सक्दैनन् ।
तर नियमित सुरक्षा जाँचका क्रममा ब्लुबुक सवारीधनी पत्र माग्दा घरमा छुट्यो लिएर आउँछु भन्दै चोर चालकहरू मोटरसाइकल ट्राफिक प्रहरीसँगै सडकमा छोडेर भाग्न सफल हुन्छन् । महाशाखा प्रमुख ढकालका अनुसार यसरी अलपत्र छोडिएका मोटरसाइकल चोरीका हुन्छन् ।
यो आर्थिक वर्षको साउनदेखि हालसम्म २११ वटा चोरीका मोटरसाइकल बरामद भएका छन् तर पक्राउ पर्ने अभियुक्त २३ जना छन् । चोरीका मोटरसाइकलको तुलनामा अभियुक्तहरू फेला नपर्दा पीडित खिन्न हुने गरेका छन् । “मलाई त मोटरसाइकलसँंगै चोर पक्राउ परेको भए सन्तुष्टि मिल्थ्यो,” बा. ७३ प ४२२७ नम्बरको मोटरसाइकलका धनी रूपेश मल्लले थप्नुभयो, “सो मोटरसाइकल दुई वर्षअघि बसुन्धराबाट चोरी भएको थियो ।”
गोरखापत्र दैनिकबाट