काठमाडौं, १ माघ । योग र ध्यानबारे नेपाल सरकारका तीन मन्त्रीले महिमा र महत्व बताएका छन् । उनीहरुले स्वस्थ जीवन, सदाचार र मानसिक शान्ति कायम गर्नपनि योग र ध्यान आवश्यक रहेको बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले समृद्ध नेपाल सुखी नेपालीको सरकारी लक्ष्य प्राप्त गर्न योग र ध्यान आवश्यक रहेकोमा जोड दिएका छन् ।
पाँचौ राष्ट्रिय योग दिवसको अवसरमा आज मन्त्रालयले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले प्राचिन विद्याको रुपमा रहेको योगले तन र मनलाई शान्त बनाउने भएकोले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्त गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।
व्यक्ति स्वस्थ्य भए मात्र समाज र राष्ट्र स्वस्थ्य हुने भएकाले अनावश्यक चिन्ता र विचारबाट मुक्त भई सकरात्मक सोच,भावना जगाउन योगलाई बढावा दिनु पर्ने उनको भनाइ थियो ।मन्त्री पोखरेलले योग र ध्यानलाई जीवनपद्धति बनाउन पनि सबैसंग आग्रह गरे ।
त्यस्तै, कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सदाचार, अनुशासन र असल चरित्र निर्माणको मार्ग अवलम्बन गर्न योग सहायक हुने बताएका थिए । उनले स्वस्थ्य र दीर्घजीवन जिउन योगलाई प्राथमिकतामा राख्नु पर्ने उनको भनाई थियो ।
यता, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले पनि योगले मानसिक शान्ति तथा उच्च आध्यात्मिक चेतना विकास गर्ने बताएका थिए । कार्यक्रममा योग गुरुहरुले योगलाई विद्यालयस्तरको पाठ्यक्रममा समावेश गर्नका लागि सरकारको ध्यानाकर्षण गराएका थिए ।
उनीहरुले नियमित योगबाट रोग लाग्ने जोखिम ६० प्रतिशत न्युनिकरण गर्न सकिने भन्दै यसलाई राष्ट्रिय जीवनको पूर्वाधार बनाउन सुझाव दिएका थिए । यस बर्ष योग दिवसको नारा राष्ट्रिय एकता योगको सान्दर्भिकता रहेको छ । तस्विर : मुकुन्द कालिकोेटे/रिपोर्टर्स नेपाल डटकम