काठमाडौं, १४ माघ ।
म आकाशमा स्वतन्त्र वेग भर्न सक्दिनँ
म मीठो बोलीले संसारलाई आकर्षित गर्न सक्दिनँ
तर म आँसुका धारा खसाल्दिनँ, यदि खसालें भने सायद यो धर्ती भरिनेछ।
उनी प्रायः सेक्सपियरलाई पढ्छन्। डिक्सनरी पल्टाउँछन् र नाकले अंग्रेजी छन्द लेख्छन्। माथि उल्लेख गरिएका हरफहरू उनीद्वारा दुई वर्षपहिले लेखिएको र उनलाई मनपर्ने कविताबाट लिइएका हुन्। नाकले लेख्दा कठिन र अत्यधिक समय लाग्ने हुन्छ। तर शारीरिक दुर्बलताबाट मुक्त हुँदै बाँकी विश्वसँग जोडिने यो नै उनको एक मात्र माध्यम हो। २१ वर्षीय दर्शन केसी ‘शंकु’ बाल्यावस्थामै अर्थात् एक वर्षको हुँदा नै मस्तिष्क पक्षाघात (सेरेबल पल्सी) बाट पीडित भए। त्यसले गर्दा उनको शरीर स्थायी रूपमै हलचल गर्न नसक्ने अवस्थामा पुग्यो। बाल्यावस्थामै उनको खुसी खोसियो। यति मात्र होइन, सात वर्षको हुँदा उनले आमालाई समेत गुमाउनुप(यो। डिप्रेसन र उच्च रक्तचापकी बिरामी उनकी आमाले आत्महत्याको बाटो रोजेर दर्शनलाई थप बेसहारा बनाइन्। त्यसपछि उनका बाबु नीरबहादुर केसी नै उनका एक मात्र सहारा हुन्।
बानेश्वरस्थित बेबिलोन स्कुलसँगै दर्शनको सानो घर छ। उनको दिनरात त्यही घरको एक कोठामा बित्छ। उनले छिमेकी तथा बाटोमा हिँड्नेहरूको देखावटी सहानुभूतिबाट बच्न चिसोमा न्यानो घामलाई समेत बेवास्ता गर्छन्। धन्न इन्टरनेट, सामाजिक सञ्जाल र उनका केही असल मित्र र शुभचिन्तक छन्, जसले उनलाई न्यानोपनको अनुभूति गराउँछन्। ‘जतिबेला ऊ सानो थियो, जसले जे भने पनि मुस्कुराउँथ्यो। हुर्किंदै जाँदा अगन्तुकहरूले देखाउने दयाभावपूर्ण व्यवहार उसलाई अप्ठेरो लाग्न थाल्यो। त्यसले गर्दा उसले घरबाहिर जानै छाडिदियो,’ उनका बाबु नीरबहादुरले भने, ‘ऊ आफ्नै कोठाभित्र बसेर पढ्न र लेख्न मन पराउँछ। उसले फेसबुकमा केही साथी पनि बनाएको छ। उनीहरूसँग उसको कुरा हुने गर्छ,’ उनले भने। ज्योत्सना अधिकारी उनीसँग लामो समयदेखि फेसबुकमा साथी छिन्। उनी दर्शनमा न्यानोपन र हँसिलोपन देख्छिन्। दर्शन ज्योत्सनालाई जन्मदिनको शुभकामना दिन कहिल्यै छुटाउँदैनन्। ‘दर्शन जस्तोसुकै कठिनाइमा पनि जीवनप्रति सकारात्मक देखिन्छन्,’ उनले भनिन्, ‘उनी सबैप्रति माया दर्साउँछन्।’
नीरबहादुर घर रंगाउने काम गर्छन्। ६ जनाको परिवारमा उनी एक मात्र कमाउने व्यक्ति हुन्। दर्शनकी आमाको मृत्यु भएको चार वर्षपछि उनले अर्काे बिहे गरे। हाल उक्त जोडीका तीन सन्तान छन्। बाबुका रूपमा उनले दर्शनलाई खुसी र सिर्जनशील बनाउन सम्भव भएजति सबै कुरा गरेको देखिन्छ। उनी दर्शनलाई प्रसन्न बनाउन ससाना कुरामा पनि जोक गर्ने र हँसाउने गर्छन्। बिहीबार बेलुका यो संवाददाता उनको घर पुग्दा बाबुछोराबीचको घनिष्ठता सुन्दर र स्मरण गर्न लायक देखियो। ‘दर्शनलाई दैनिक हरेक काम गर्न मेरो सहयोग चाहिन्छ तर ऊ निकै प्रतिभाशाली छ। आफ्नै कविताको एउटा पुस्तक प्रकाशित गर्ने उसको सपना छ। मलाई विश्वास छ, उसको सपना पूरा हुनेछ,’ नीरबहादुरले भने, ‘ऊ कठिन शब्द प्रयोग गरेर अंग्रेजीमा कविता लेख्छ, म धेरै कम मात्र बुझ्छु।’ दर्शनकी सौतेनी बहिनी सिम्रन केसीका अनुसार उनी परिवारकै चलाख सदस्य हुन्। आफू सानी हुँदा उनलाई दर्शन किन मसँग खेल्दैन भन्ने लाग्थ्यो। पछि उनले महसुस गरिन्, त्यो उनको बाध्यता थियो। ‘उसले मलाई माया गर्छ। ऊ धेरै मिलनसार छ,’ उनले भनिन्, ‘औंलाहरू राम्रोसँग नचल्ने भएकाले ऊ नाकले लेख्छ।’ दर्शनले दक्षिण भारतीय चलचित्र निकै हेर्ने गरेको उनी बताउँछिन्। ‘गीतसंगीतमा पनि उनको उत्तिकै रुचि रहेको छ,’ सिम्रनले भनिन्।
दर्शन एक वर्षको हुँदा समेत अरू बच्चाजस्तै हिँड्डुल गर्न नसकेपछि नीरबहादुर र दर्शनकी आमा शिला थापा चिन्ता गर्थे। वीर अस्पतालका डाक्टरसँगको सल्लाहपछि उनलाई एसजिसिपीले सञ्चालन गरेको धापाखेलस्थित स्कुलमा भर्ना गरियो। उक्त संस्थाले दर्शनजस्तै बालबालिकालाई थेरापी गराउने, शिक्षा दिने र घरबाट ल्याउने लैजाने पनि गर्छ। उनले त्यहाँ ६ कक्षासम्म अध्ययन गरे। अस्ट्रेलियाबाट ‘विशेष शिक्षा’ अध्ययन गरेर हालै मात्र नेपाल फर्किएकी रजुना सिंहका अनुसार दर्शन तीक्ष्ण छन् र उनको शक्तिका स्रोत बाबु हुन्। रजुनाले दर्शनलाई स्कुलमा कम्प्युटर चलाउन सिकाउँथिन्। दर्शन स्कुल जान छाडेको करिब पाँच वर्ष भयो। अहिले स्कुलले नै उनको घरमै आवश्यक कम्युटर, इन्टरनेटलगायत विद्युतीय उपकरणको व्यवस्था गरिदिएको छ। ‘मैले फरक शारीरिक र मानसिक अवस्था भएको विद्यार्थीलाई सम्हाल्ने गरेकी छु,’ रजुनाले भनिन्, ‘दर्शन असाधारण छन्।’ उनी आफैं पनि बच्चैदेखि ह्विलचियरको सहारामा हिँडडुल गर्छिन्। ‘म चाहन्छु उसलाई जीवनमा अघि बढ्न सक्दो सहयोग मिलोस्। तर अपांगता भएका व्यक्तिहरूलाई नेपालमा बेवास्ता गरिन्छ र अवसरबाट वञ्चित गरिन्छ,’ उनले भनिन्। नेपालमा दर्शनको जस्तो अवस्था भएका कति व्यक्ति छन् भन्ने वास्तविक तथ्यांक छैन। २०६८ मा भएको जनगणनाअनुसार सबैखाले अपांगता भएका व्यक्तिको संख्या २ प्रतिशतभन्दा कम छ। राष्ट्रिय अपांग महासंघले भने यो तथ्यांकप्रति असहमति जनाउँदै आएको छ।
दर्शन साहित्य लेखनमा मात्र नभई औपचारिक कुराकानीमा पनि अंग्रेजी शब्द प्रयोग गर्छन्। ‘औपचारिक शिक्षा नलिएकाले उसको शैली फरक छ। उसको अंग्रेजी भाषाको ज्ञान स्वाध्ययन हो,’ उनले भनिन्, ‘म उसलाई सजिलो शब्द लेख्न भन्छु तर ऊ साहित्यिक र रहस्यमय शब्द प्रयोग गर्छ।’ दर्शनलाई जीवन के हो भनी सोधिएको प्रश्नमा उनको जवाफ थियो, ‘संघर्ष’। उनी भगवान् वा अन्य अलौकिक शक्तिप्रति विश्वास गर्दैनन् तर आत्माको अस्तित्वलाई पनि नकार्दैनन्। बाल्यकालको सुरुआतमै भएको आमाको मृत्युले उनलाई भौतिक विश्वभन्दा बाहिर पनि सोच्न बाध्य बनायो। ‘जीवनमा सुखभन्दा दुःख धेरै छ। सानो उपलब्धिका लागि पनि धेरै संघर्ष र धैर्य गर्नुपर्छ,’ उनले जीवनको व्याख्या गरे। ‘म धर्म वा भगवान्प्रति विश्वास गर्दिनँ,’ उनले भने, ‘विश्व भगवान्बाट चलेको छैन। मेरो विचारमा यो आफ्नै प्रकृतिमा चल्छ।’ दर्शन प्रत्येक दिन बिहान एक कप कालो कफी पिएपछि सुरुमा सेक्सपियर पढ्छन्। यसले उनलाई निकै आनन्द दिन्छ। केही लाइन पढ्न, त्यसलाई बुझ्न र मनन गर्न पनि करिब ४५ मिनेट लाग्ने उनको भनाइ छ। ‘म साधारण शब्दको अर्थ पुष्टि गर्न पनि डिक्सनरीको सहयोग लिन्छु, त्यसकारण डिक्सनरीमा मेरो लामो समय बित्छ,’ उनले स्पष्टीकरण दिए, ‘मेरो अंग्रेजी व्याकरण कमजोर छ। यसले कहिलेकाहीँ निराश बनाउँछ।’
पाँच वर्षदेखि उनले कवि बन्ने विषयलाई गम्भीरताका साथ सोच्न थालेका छन्। सुरुमा उनले ह्यारी पोर्टरका कथा तथा अन्य उपन्यासहरू पढे तर उनलाई झमक घिमिरेको ‘जीवन काँडाकी फूल’ले रचनात्मक प्रेरणा दियो। ‘दर्शनले विद्यालयलाई निरन्तरता दिन चाहन्थ्यो तर ऊ हुर्किंदै जाँदा प्रत्येक दिन ह्विलचियरमा राख्ने, विद्यालयमा लैजाने र घरमा ल्याउने काम सहज थिएन। मेरो अनुपस्थितिमा यो कठिन थियो,’ नीरबहादुरले भने, ‘विद्यालय जान छाडेपछि उसले स्वाध्ययन सुरु ग¥यो। ऊ आफ्नो पुस्तक प्रकाशन गर्न र नेपालभित्रका केही ठाउँ भ्रमण गर्न चाहन्छ।’ दर्शनले विभिन्न विषयमा एक सय ५० भन्दा बढी कविता सिर्जना गरिसकेका छन्। त्यसमध्ये सातवटा कविता उनलाई खुब मन पर्छ। ‘अरू खासै राम्रा छैनन्,’ उनले स्वीकार गरे। तर उनी ती कविताहरूको संग्रह ल्याउन चाहन्छन्। उनले कैयौं रात नसुती विचरण गर्दैै लेखेर बिताएका छन्। ‘एउटा कविता लेख्न चारदेखि आठ घण्टासम्म लाग्छ। मेरो लेखाइको गति सुस्त छ,’ उनले भने। उनको लामो नाक छ, जसको प्रयोग उनी अभिव्यक्तिका लागि पनि गर्छन्। यदि लामो नाक नभएको भए उनी के गर्थे ? मुस्कुराउँदै उनले जवाफ दिए, ‘मलाई थाहा छैन।’
दर्शनलाई विश्वमा अन्य दुईजना व्यक्ति पनि उनीजस्तै आफ्नो साहित्यिक महŒवाकांक्षालाई नाकको माध्यमबाट पूरा गर्छन् भन्नेबारे जानकारी छैन। बेलायतका रिचार्ड होप्लीले सन् २००५ मा ‘रिभर बुक’ र जोस बेरीले सन् २०१८ मा आत्मकथा ‘एडप्टिड प्रकाशित गरेका छन्। उनीहरू दुवै दर्शनकै जस्तै समस्याबाट गुज्रिरहेका छन्। कवि बन्ने तीव्र इच्छाशक्तिका कारण उनले लेख्ने माध्यमका रूपमा नाकको प्रयोग गर्ने बानी बसाले। उनी सेक्सपियरका कविताबाट निकै नै प्रभावित छन्। तर किन भन्ने प्रश्नको जवाफ उनीसँग पनि छैन। ‘म आशा गर्छु एक दिन मेरो सपना पूरा हुनेछ,’ उनले भने, ‘म आफ्नो क्षमताले संसारलाई प्रभावित गर्न चाहन्छु।’
नागरिक दैनिकबाट