Logo

निसासिएर ३ वर्षमा ३१ जनाले ज्यान गुमाए



काठमाडौँ, १७ माघ । मालिका गाउँपालिका–४ म्याग्दीका ४२ वर्षीय हस्तकुमार थापा र ३४ वर्षीया पत्नी नेत्र पुनको ललितपुर महानगरपालिका–१४ विशालचोकस्थित ‘फिट एन्ड फाइन हेल्थ क्लब’ मा साउनापछि नुहाउने क्रममा बुधबार साँझ निसासिएर मृत्यु भएको छ । थापा तत्कालीन महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापामगरका स्वकीय सचिव हुन् । प्रहरीका अनुसार थापा क्लबका नियमित ग्राहक थिए ।

माघ ७ गते दामनको पानोरमा रिसोर्टमा ग्यास हिटर बालेर सुतेका ८ जना भारतीय नागरिकको मृत्यु भयो । अनुसन्धानका क्रममा उनीहरूको मृत्यु अक्सिजनको कमीबाट भएको खुलेको थियो । पुस २० गते वीरेन्द्रनगर नगरपालिका–२ कोलडाँडाका हरिबहादुर कामी र उनकी पत्नी चन्दा कोइला बालेर सुतेका थिए । भोलिपल्ट बिहान चन्दा मृत र हरिबहादुर बेहोस अवस्थामा फेला परे । कसमस कलेजमा कक्षा १२ मा अध्ययनरत छात्रा १९ वर्षीया जेनेथ चौहानको पुस १९ गते ललितपुरको सातदोबाटोस्थित सुरिवा गर्ल्स होस्टेलको शौचालयमा निसासिएर ज्यान गयो ।

मंसिर २९ गते राति कोठा तताउन कोइला बालेर सुतेका कीर्तिपुर नगरपालिका–८ पाँगा बसपार्कका शर्मिला रञ्जितकार र २ वर्षीय छोराको पनि निसासिएर मृत्यु भयो । गोंगबुमा डेरा गरी बस्ने धादिङकी २२ वर्षीया संगीता रानामगरको २०७५ मंसिर ६ गते मृत्यु भयो । उनका श्रीमान् राम दर्लामी र ४ महिने छोरीलाई बेहोस अवस्थामा अस्पताल लगिएको थियो ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्