काठमाडौं, १७ माघ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद गजेन्द्रबहादुर महतले छाउगोठको नाममा घर भत्काइएको गम्भिर असन्तुष्टि पोखेका छन् । शुक्रबार विहान प्रतिनिधिसभाको बैठकको शुन्य समयमा बोल्दै सांसद महतले गृह मन्त्रालयले काम नपाएर छाउगोठको नाममा घर भत्काउँदै हिँडेकोमा आपत्ति जनाएका हुन् ।
उनले सम्बोधनको सुरुवातमै भने,‘गाउँघरतिर उखान छ (काम नपाए बुहारी कुकुरको पुछ कन्याउ’ अहिले हाम्रो गृह मन्त्रालय यस्तै छ। छाउगोठको नाममा हाम्रो घर भत्काइएका छन्। एउटा व्यक्ति मृत्यु भयो भन्दैमा घर भत्काउन पाइन्छ? ८ जना मान्छे होटलमा मृत्यु भएको छ। होटल भत्काउँदै हिँड्ने। उनले हजारौं मान्छेको बस दुर्घटनामा मृत्यु हुने गरेको उल्लेख गर्दै ’के बसमा आगो लगाउँदै हिँड्ने?’ भन्दै प्रश्न गरे।
महतले थप भने,‘चाहिँदो काम गर्नुर्पयो नि। जिल्लामा नुन बेचिएको छ। औषधि बेचिएको छ। भ्रष्टाचार भएको छ। पुलको बेहाल छ। बाटोको बेहाल छ। ठेकेदार कहाँ छ थाहा छैन’, महतले भने, ’तिनलाई पक्डिएर कारबाही गर्नु पर्दैन? स्कुलको अवस्था के छ। अस्पतालको अवस्था के छ? हिजो गोर्खाली सेनाको नाममा भत्काइयो। अहिले छाउगोठको नाममा भत्काइयो। गृह मन्त्रालय कहाँ छ, काम पाएको छैन यसले।’
आजको बैंकको शुन्य समयमा सांसदहरु आश कुमारी बिक, तुलासा थापा, झपट बहादुर रावल, ईन्दुकुमारी शर्मा, उमा रेग्मी, खगराज अधिकारीलगायतले बोलेका थिए ।