माघ १७, काठमाण्डौ । सहिद स्मारक ’ए’ डिभिजन लिगको नवौँ चरणका खेलहरु सकिएका छन् । विहिबार नवौं चरणको खेल सकिदा उपाधि होड र रेलिगेशन क्षेत्र रोमाञ्चक मोडमा पुगेको छ । उपाधीका लागि त्रिभुवन आर्मी, मछिन्द्र र मनाङबीच तीब्र प्रतिस्पर्धा देखिएको छ ।
विभागीय टिम त्रिभुवन आर्मी क्लब २० अंक जोडेर लिगको शीर्ष स्थानमा रहेको छ । पहिलो पटक लिग जित्ने बाटोमा रहेको आर्मीलाई शीर्ष स्थानमा १ अंकको अग्रता रहेको छ । दोस्रो स्थानमा रहेको मछिन्द्र फुटबल क्लबको १९ अंक छ । गत सिजन खराब प्रदर्शन बाबजुद मछिन्द्रसँग सुरुवातबाटै एक अंक खोसिएको थियो ।
यस्तै मछिन्द्रसँग समान अंक भएपनि साबिक विजेता मनाङ मर्स्याङ्दी क्लब हेड टु हेडका आधारमा तेस्रो स्थानमा छ । ९ खेल खेलेको मनाङ चालु लिगको एक मात्रै अपराजित टिम हो । ’ए’ डिभिजन लिगको ४ पटकको विजेता थ्री स्टार क्लब भने उपाधि होडबाट बाहिरिएको छ । ९ खेलमा ४ मात्रै जित हासिल गरेको थ्रीस्टार १४ अंक सहित तालिकाको पाचौं स्थानमा छ । यता, १५ अंक सहित तालिकाको चौथो स्थानमा रहेको न्युरोड टिम एनआरटीले शीर्ष ६ का लागि मिहिनेत गर्नुपर्ने अवस्था छ । शीर्ष स्थानको आर्मी भन्दा ५ अंकले मात्रै पछि रहेको एनआरटी पनि उपाधि होडबाट बाहिरिएको भन्दा फरक नपर्ला । रेलिगेशन क्षेत्र पनि उस्तै रोमाञ्चक स्थितिमा पुगेको छ ।
मंगलबार पुछारमा एक अंक मात्रै रहेको सरस्वती युथ क्लबले हिमालयन शेर्पाविरुद्ध नाटकिय रुपमा जित हासिल गरेसँगै रेलिगेशन क्षेत्र झनै रोमाञ्चक स्थितिमा पुगेको हो । रेलिगेशनमा परेर बि डिभिजनमो घटुवा हुनबाट जोगिनका लागि सरस्वती युवा क्लब, विभागीय शसस्त्र प्रहरी बलको एपिएफ र हिमालयन शेर्पा क्लबको प्रतिस्पर्धा चलिरहेको छ ।
अन्तिममा रहेको सरस्वतीको ४ अंक रहेको छ । पुछारबाट दोस्रोमा रहेको एपीएफको ५ अंक रहेको छ । मंगलबार सरस्वतीसँग पराजित भएको शेर्पाको ७ अंक रहेको छ । लिगमा अब सबै टिमले ४ खेल मात्रै खेल्न बाकी छ । शीर्ष तीन र पुछारका तीन टीमबाहेक बिचमा रहेका क्लबहरु शीर्ष ६ भित्र पर्नका लागि केन्द्रित भएका छन् । किनकी शीर्ष ६ मा रहने टिमले राष्ट्रिय लिग खेल्न पाउनेछन् । शीर्ष ६ क्लब र एन्फा प्रेसिडेन्ट कपको शीर्ष ४ टिमबीच राष्ट्रिय लिग आयोजना हुने एन्फाले तयारी गरिरहेको छ ।
अहिले शीर्ष ६ का लागि एनआरटीसँगै थ्रीस्टार, पुलिस, जावलाखेल, संकटा, फ्रेन्ड्स, च्यासल र ब्रिगेड ब्वाईज प्रतिस्पर्धामा रहेका छन् । तालिकाको छैठौं स्थानमा रहेको पुलिसको १४ अंक रहेको छ । यस्तै सातौ स्थानको जावलाखेलेका १२ अंक छ । समान १२ अंक रहेको संकटा गोल अन्तरका आधारमा आठौं स्थानमा छ । ११ अंक रहेको फ्रेन्ड्स नवौं स्थानमा छ । ७ अंक रहेको च्यासल दशौं स्थानमा रहँदा ८ अंक रहेको ब्रिगेड ११ औं स्थानमा छ ।