काठमाडौँ, १८ माघ । जनमत सङ्ग्रहले दिएको मतादेशलाई कार्यान्वयनमा लाँदै बेलायत युरोपेली सङ्घ (इयू)बाट बाहिरिएको छ ।
सन् २०१६ को जुन २३ मा भएको जनमत सङ्ग्रहमा संयुक्त अधिराज्यका ५२ प्रतिशत मतदाताले बेलायतलाई इयूबाट अलग गर्ने (ब्रेक्जिट) को समर्थन गरेका थिए भने ४८ प्रतिशतले त्यसको विपक्षमा मतदान गरेका थिए । बेलायत आधिकारिक रूपमा शुक्रबारबाट इयूसँग अलग्गिएको छ । यो सँगै इयू र बेलायतबीचको करिब आधा शताब्दी लामो सम्बन्ध नयाँ स्वरूपमा आउनेछ । यद्यपि बेलायतले आगामी ११ महिना सङ्क्रमणकालबाट गुज्रिनेछ । यो समयमा बेलायतले इयूसँग पुरानै कानूनमा आधारित रहेर काम गर्नेछ ।
ब्रेक्जिटका लागि गत डिसेम्बर महिनामा भएको आमचुनावमा हाउस अफ कमन्सका ८० सदस्यसहितको बहुमत पाएर चुनाव जितेपछि प्रधानमन्त्री जोनसनले संसद्मार्फत यो पछिल्लो सम्झौता गर्नुभएको थियो ।
बेलायतले आफ्ना सबै साधन र स्रोतहरूलाई स्वतन्त्र र खुलारूपले प्रयोग गर्न पाउँदा मुलुकको आर्थिक तथा राजनीतिक उचाइ थप बढ्ने बताउनुभएको छ । उहाँले स्रोत र साधनको उपयोग गर्ने समय भएको र यसबाट मुलुकको साख उठाउन बेलायत एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभएको छ । यद्यपि उहाँले आफ्नो सम्बोधनमा कसरी देशले समृद्धि प्राप्त गर्नेछ भन्नेबारे तर्कहरूलाई पुष्टि गर्ने व्याख्या भने सम्बोधनमा उल्लेख छैन ।
ब्रेक्जिटबारे धारणा राख्दै बेलायती प्रधानमन्त्री बोरिस जोनसनले गरेको सम्बोधनमा भन्नुभयो, “धेरै व्यक्तिका लागि यो आशाको आश्चर्यजनक क्षण हो जसले यो क्षण आउने कल्पना गरेका थिएनन् । पक्कै पनि यहाँ ठूलो सङ्ख्याले चिन्ता र नोक्सानको भाव पनि प्रकट गरेका छन् ।”
“सम्भवतः सबैभन्दा ठूलो तेस्रो यस्तो समूह पनि छ जसले सम्पूर्ण राजनीतिक झगडा कहिल्यै समाप्त नहुने भन्दै चिन्ता गरिरहेका थिए । म ती सबै भावना बुझ्छु र सरकारका रूपमा हाम्रो काम अर्थात् प्रधानमन्त्रीका रूपमा मेरो काम यो देशका सबै नागरिकलाई एकताबद्ध गरेर देशलाई अघि बढाउने हो ।”
उहाँले भन्नुभयो, “आफ्ना सामथ्र्य र प्रशंसनीय गुणका कारण इयूले आफ्नो झण्डै आधा शताब्दी यसरी बिताएको हो । अब यो बेलायतका लागि सान्दर्भिक छैन । आज भन्नुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा के छ भने यो सम्बन्धको अन्त्य होइन नयाँ शुरुआत हो र यो वास्तविक राष्ट्रिय नवीकरण र परिवर्तनको क्षण हो ।”
करिब साढे तीन वर्षपहिले जनताको निर्णयलाई आधार मान्दै बेलायती कानूनअनुसार बहिर्गमनको प्रक्रिया शुरु भएको थियो तर यसै विषयमा भएका विवादलाई लिएर बेलायतमा दुई–दुईपटक प्रधानमन्त्री पनि फेरबदल भए ।
जनमत सङ्ग्रहलगत्तै तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरूनले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । उहाँ ब्रेक्जिटको विपक्षमा हुनुहुन्थ्यो । त्यसपछि प्रधानमन्त्री बनेकी टरिजा मेलाई जनमत सङ्ग्रहको मुख्य दायित्व ब्रेक्जिटको पूरा गर्नु वा लागू गर्नु थियो । तर बे्रक्जिटका लागि मेले इयू नेताहरूसँग गरेको सम्झौतालाई बेलायतको संसद्ले स्वीकृति नदिँदा पटक पटकको प्रयास विफल भयो । विभिन्न सर्तहरूबारे सांसदको समर्थन हासिल गर्न नसकेपछि उहाँले पनि राजीनामा दिनुभयो । अहिलेका प्रधानमन्त्री बोरिस जोनसनसमक्ष उक्त दायित्व आएको हो ।
ब्रेक्जिट पक्षधर र इयूको समर्थन गर्ने प्रदर्शनकारीहरू दुवैले ¥याली गरेका थिए । ब्रेक्जिट पक्षधरले त उत्सव र मैनबत्ती नै बालेर परिवर्तनलाई आत्मसात् गरेका छन् ।
बेलायतले अबका ११ महिनासम्म ‘सङ्क्रमणकाल’ शुरु गर्ने भएकाले परिवर्तन चाहिँ खासै देखिने छैन । सदस्यता त्यागे पनि धेरैजसो युरोपेली सङ्घका कानूनहरू कायमै रहनेछन् । ब्रेक्जिट लागू भए पनि सङ्क्रमणकालभरि डिसेम्बरको अन्त्यसम्म मानिसहरू स्वतन्त्र रूपमा आवतजावत गर्न सक्नेछन् । सरकारले इयूसँग सङ्क्रमणकालभित्रै स्थायी रूपमा खुला व्यापार सम्झौता गरिसक्ने लक्ष्य राखेको छ ।
ब्रेक्जिटपछि दिएको संक्षिप्त प्रतिक्रियामा लेबर पार्टीका नेता जेरेमी कोर्बिनले ब्रेक्जिटपछि ‘देश अगाडि बढ्नुपथ्र्यो’ र इयूसँग ‘राम्रो सम्बन्ध बनाइरहनुपथ्र्यो’ भन्नुभएको छ । उहाँले बिना आधार अमेरिकासँग व्यापार सम्झौताका लागि हतार नगर्न सुझाव दिनुभएको छ ।
ब्रेक्जिटसम्बन्धी जनमत सङ्ग्रहमा जुन तरिकाले मत खसेको भए पनि इयूबाट बाहिरिने दिन सबैका लागि एक महत्वपूर्ण समय भएको पनि बताउनुभएको छ ।
जनमतसङ्ग्रहका बेला इयूसँगै बस्नुपर्ने अभियानको नेतृत्व गरेका पूर्वप्रधानमन्त्री डेविड क्यामरुनले पनि ब्रेक्जिट कार्यान्वयनमा जाने दिनबारे भन्नुभयो, “आज बेलायतका लागि ठूलो दिन भएको बताउनुभयो । उहाँले बेलायतका जनताको ‘रोजाइ सफल हुने’ विश्वास आफूलाई रहेको बताउनुभयो ।
त्यस्तै ब्रेक्जिट पार्टीका नेता नाइजल फराजले भन्नुभयो, “अन्त्यमा त्यो दिन आएको छ जब हामी स्वतन्त्र हुन्छौँ । संस्थापनको विरुद्ध लड्ने मानिसका लागि जनवरी ३१ ऐतिहासिक दिन हो र विशेष जितको पल हो ।” नाइजेल फराजको ब्रेक्जिट पार्टीले सन् २०१९ को मेमा भएका युरोपेली चुनावमा संयुक्त अधिराज्यका तर्फबाट सबभन्दा धेरै सिट जितेको थियो । ब्रेक्जिट पार्टीका नेता तथा बेलायतले इयू त्याग्नुपर्ने पक्षका मुख्य अभियानकर्ता नाइजेल फराज ती ७३ ब्रिटिश युरोपेली सांसदमध्ये हुन् जसको पद स्वतः समाप्त हुँदैछ किनभने ब्रेक्जिटको समयमा बेलायतले इयूका सबै राजनीतिक निकाय तथा संस्था त्याग्नेछ ।
सङ्क्रमणमा संयुक्त अधिराज्यले इयूको नियम मानिरहनेछ र इयूलाई तिर्नुपर्ने पैसा पनि तिरिरहनेछ । कति कुरा पहिलाकै जस्ता हुनेछन् भने केही बदलिनेछन् । ब्रेक्जिटको कार्यान्वयनसँगै युरोपेली संसद्मा रहेका बेलायती सदस्यहरू पदमुक्त भएका छन् तर बेलायतले सङ्क्रमणमा इयूको नियम मान्नुका साथै युरोपेली न्यायालयलाई कानूनी विवादमा अन्तिम निरूपणको अधिकार प्राप्त भइरहनेछ । अब इयू शिखर सम्मेलनमा बेलायत सहभागी हुन पाउनेछैन । बेलायती प्रधानमन्त्रीलाई विशेष निमन्त्रणा गरिएको अवस्थामा बाहेक आगामी दिनमा हुने इयू परिषद् शिखर सम्मेलनहरूमा सहभागी हुन अवसर मिल्ने छैन साथै बेलायती मन्त्रीहरू पनि विभिन्न युरोपेली नियमहरू बसाल्ने नियमित इयू बैठकहरूमा सहभागी हुने छैनन् ।
वस्तु तथा सेवाको किनबेचका नयाँ नियम बसाल्न बेलायतले विश्वभरका देशहरूसँग वार्ता गर्न सक्नेछ । यसपहिले इयूको सदस्य रहेको भन्दै बेलायतले अमेरिका तथा अस्ट्रेलियासँग औपचारिक व्यापार वार्ता गर्न पाएको थिएन । ब्रेक्जिट समर्थकहरूको भनाइमा स्वतन्त्रतापूर्वक आफ्नो व्यापारनीति बनाउन पाउँदा बेलायतको अर्थतन्त्रलाई फाइदा हुनेछ ।
अनि इयूसँग अझै धेरै छलफल बाँकी छन् । बेलायत–इयू व्यापार सम्झौता उच्च प्राथमिकतामा छ, त्यसैले सङ्क्रमणको अन्त्यसँगै वस्तु तथा सेवामा अतिरिक्त कर तथा अन्य व्यापार अवरोध आवश्यक पर्नेछैन । कुनै व्यापार सम्झौता हुने हो भने त्यो सङ्क्रमण सकिएपछि मात्र शुरु हुनेछ ।
सन् १९८८ मा बेलायतको नीलो पासपोर्टलाई इयूअन्तर्गतको कलेजी पासपोर्टले विस्थापन गरेको थियो । पुरानो नीलो रङ्गको बेलायती पासपोर्टको रङलाई पुनः प्रयोगमा आउनेछ । हालको कलेजी रङ्गको पासपोर्टले त्यसलाई ३० वर्षअघि विस्थापन गरेको थियो । आगामी केही महिनाहरूमा नयाँ पासपोर्ट चरणबद्ध रूपमा लागू गरिनेछ । यस वर्षको मध्यसम्ममा सबै पासपोर्ट बदलिसक्नेछन् ।
ब्रेक्जिटको संस्मरणस्वरूप बेलायतले ५० पेन्सका ३० लाख सिक्कालाई शुक्रबारदेखि चलनचल्तीमा ल्याएको छ । तिनमा जनवरी ३१ को मिति तथा ‘शान्ति, सम्पन्नता र सबै देशसँग मित्रता’ कुँदिएको छ । सिक्काले मिश्रित प्रतिक्रिया पाएको छ । ब्रेक्जिटविरोधी कतिपयले यसलाई नस्वीकार्ने भन्दै आएका छन् । यसअघि सरकारले यो सिक्का पहिले तोकिएको ब्रेक्जिट मिति अक्टोबर ३१ मा नै चलनचल्तीमा ल्याउन खोजेको थियो । तर ब्रेक्जिटको मिति परिवर्तन भएपछि ती सिक्का फेरि पगालेर नयाँ बनाइएको हो ।
ब्रेक्जिट प्रक्रियालाई अघि बढाउन इयूसँग वार्ता गर्न गठित टोली तथा अन्य सम्बद्ध तयारीहरू अब स्वतः अन्त्य भएका छन् । पूर्वप्रधानमन्त्री टरिजा मेले सन् २०१६ मा इयू बहिर्गमन विभाग स्थापना गर्नुभएको थियो । आगामी वार्ताका लागि बेलायतको वार्ता टोली प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटमै रहनेछ ।
अब जर्मनी भागेका केही सन्दिग्ध अपराधीलाई बेलायत फिर्ता ल्याउन सम्भव हुनेछैन । जर्मनीको संविधानले इयू सदस्य राष्ट्रबाहेक अन्यत्र उसका नागरिकलाई सुपुर्दगी गर्न अनुमति दिँदैन ।
बेलायतका नागरिकलाई इयू नागरिकझैँ व्यवहार गरिनेछ । विमान, पानीजहाज र रेलहरू साबिकझैँ चल्नेछन् । अध्यागमन वा पासपोर्ट नियन्त्रणको सन्दर्भमा चाहिँ सङ्क्रमणको अवधिमा बेलायतका नागरिकहरूलाई अझै पनि इयू आगमनलाई तोकिएको क्षेत्रमा लाइन बस्न दिइनेछ ।
चालक अनुमतिपत्र तथा घरपालुवा जनावरका पासपोर्ट म्याद नसकिँदासम्म मान्य रहिरहनेछन् । तर नवीकरण गर्दा अब नयाँ नियम लागू हुनेछ ।
युरोपेली स्वास्थ्य बीमा कार्ड
बेलायतका नागरिकलाई इयूमा स्वास्थ्य सेवा लिन मिल्नेगरी बनाइएका यी विशेष स्वास्थ्य सेवाका लागि वितरण भएको परिचयपत्र सङ्क्रमणकालसम्म मात्र मान्य हुनेछन् । बिरामी वा दुर्घटनाका बेला बेलायता नागरिकहरूलाई युरोपमा सरकारी स्वास्थ्यसेवा लिनका लागि गराउँछ । ती कुनै पनि इयू सदस्य राष्ट्रसहित स्विट्जरल्यान्ड, नर्वे, आइसल्यान्ड र लिक्टेन्स्टाइनमा सङ्क्रमणकालीन अवधिभरि लागू भइरहनेछन् ।
सङ्क्रमणीन अवधिमा आवतजावतको स्वतन्त्रता रहिरहनेछ । त्यसैले यो अवधिमा बेलायतका नागरिकहरूले अहिलेको जस्तै इयूमा बस्न र काम गर्न पाउनेछन् । त्यस्तै व्यवस्था बेलायतमा बस्न र काम गर्न चाहने इयूका नागरिकको हकमा पनि लागू हुनेछ ।
इयूमा बस्ने बेलायतका नागरिकहरूले सरकारी पेन्शन तथा वार्षिक वृद्धि पाइरहनेछन् । सङ्क्रमणकालभरि बेलायतले इयूलाई बजेट योगदान दिइरहनेछ । यसको अर्थ इयूको अनुदानबाट सञ्चालित साबिकका कार्यक्रमहरू चलिरहनेछन् । बेलायत–इयु व्यापार कुनै अतिरिक्त कर वा चेकजाँचबिना निरन्तर चल्नेछन् । (विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)