काठमाडौँ, १९ माघ । मोरङको रतुवामाई र झापा गौरीगञ्जको सिमाना भएर बग्ने रतुवा खोलामाथिको पक्की पुल निर्माण सम्पन्न भएको १० वर्षपछि सञ्चालनमा आएको छ। पश्चिममा रतुवामाई नगरपालिका–३ र पूर्वमा गौरीगञ्ज गाउँपालिका–५ जोड्ने पुल ०६६ सालमा १० करोड रुपैयाँ लागतमा निर्माण भएको थियो।
नौवटा पिलर उठाएर पुल डिभिजन कार्यालयले बनाएको दुई सय मिटर लम्बाईको पुल १० फिट अग्लो भए पनि पूर्व–पश्चिम दुवैतर्फ पुलसम्म पुग्ने बाटै थिएन। जमिनको सतहभन्दा पुलको मुखको भाग निकै अग्लो थियो। दुवैतर्फ बाटो नभएकाले ठूलो धनराशि खर्च गरेर बनाइएको हुलाकी सडक अन्तर्गतको पुल प्रयोगविहीन हुँदा स्थानीयलाई असहज भइरहेको थियो। रतुवामाई र गौरीगञ्जले आ–आफ्नोपट्टि ड्याम उठाउँदै पुललाई जोड्ने अस्थायी बाटो बनाइदिएपछि पुल सामान्य हिसाबमा सञ्चालनमा आएको हो। निर्माण सम्पन्न भएको लामो समयसम्म संघीय सरकारले बेवास्ता गरेपछि स्थानीय तहले आफ्नै बजेट खर्चिएर तत्काललाई पुल सञ्चालनमा ल्याएका हुन्। पुल सुचारु भएसँगै साना सवारीसाधन सञ्चालन हुन थालेका छन्। स्थानीय बासिन्दालाई पुलबाट वारपार र आवतजावत गर्न सजिलो भएको छ।
रतुवामाईका हरि यादवले पुल निर्माण भइसक्दा पनि लामो समयसम्म सञ्चालनमा नआउँदा स्थानीय बासिन्दा दुःखी भएको बताए। ‘हिउँदमा खोलो सानो हुँदा जसोतसो हिँडेर पनि तर्न सकिन्छ,’ उनले भने, ‘बर्खामा भेलबाढी आउँदा वारपार गर्न सकिँदैन।’ पुल नहुँदा खोलाबाट धेरै जोखिमपूर्ण यात्रा गर्नुपर्ने यादवको भनाइ छ। ‘ढिलै भए पनि अस्थायी बाटो बनेर पुल सञ्चालनमा आएपछि गाडी गुड्न थालेका छन्,’ उनले भने, ‘सर्वसाधारणलाई खोला वारपार गर्नदेखि लिएर स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन निकै सहज भएको छ।’
अन्नपूर्ण पोष्ट्बाट