काठमाडौं, १९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा आज नेतृत्वले जवाफ दिने कार्यक्रम छ । यसको लागि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले तयारी गरिसकेका छन् । केन्द्रीय सदस्यहरुले समूहगत रुपमा उठाएका सवालमा जवाफ दिनको लागि सचिवालयले तयारी गरिसकेको छ । आज विहानै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सचिवालय बैठक बसेर यस्तो तयारी गरेको छ । आइतवार अपराह्न १ बजे बस्ने केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वयले जवाफ दिने कार्यक्रम रहेको छ ।
बैठकमा सरकार र पार्टीको आलोचना भएकोले सो आलोचनालाई मत्थर पार्ने अध्यक्षद्धयको योजना छ । बैठकमा सदस्यहरुले एमसिसी, सिमा विवाद, सरकारले काम गर्न नसकेको, भ्रष्टाचार बढेको, नेताहरु विलाषी बनेका लगायतका विषयहरु उठाएका छन् । त्यही भएर अध्यक्षद्वय ओली र दाहालले ती आलोचना र विरोधका स्वरलाई एकमतले जवाफ दिने रणनीति बनाएका छन् ।
माघ १५ गते शुरू भएको केन्द्रीय कमिटी बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लामो सम्बोधन गरेका थिए । उनको सम्बोधन चल्दै गर्दा शीर्ष नेताहरु भने मस्त निद्रामा परेका थिए । बैठकमा नेताहरु सुतेको भिडियो फुटेज नै प्राईम टाईम्स टेलिभिजनले प्रशारण गरेपछि बैठक अवधिभर ती नेताहरुको बारेमा चर्चा भएको थियो ।
फाईल तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम