Logo

पारस, ज्ञानेन्द्र र सन्दिप ‘फ्लप’ हुँदा दर्शकको साथ काम लागेन



माघ २२, काठमाण्डौ । नेपाल क्रिकेटका लागि नेपाली दर्शक उर्जा मानिन्छन् । नेपालमा हुने जुनसुकै अन्तराष्ट्रियस्तरको खेलमा नेपाली क्रिकेट खेलाडिलाई दर्शकले भरपुर हौसला दिने गर्दछन् । जसले गर्दा नेपालले जित्ने सम्भावना बढी हुने गर्दछ । तर बुधबार होम ग्राउण्डमा नेपालले एक दिवसीय खेलमा नै हार बेहोरेको छ । नेपाल ओमनसँग १८ रनले पराजित भएको हो ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा आइसिसी वर्ल्डकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमनसँग १८ रनले पराजित भएको हो । टस जित्दै बलिङ गरेको नेपाललाई ओमनले १ सय ९८ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रेको नेपालले ४६.४ ओभरमा १७९ रन मात्रै बनाउन सक्यो ।

नेपालका ओपनिङ ब्याट्म्यान कप्तान ज्ञानेन्द्र मल्ल १ रन र पूर्व कप्तान पारस खड्का ३ रन बनाउँदै आउट भए । आशा गरिएका र भरपर्दा मानिएको खड्का र मल्लको प्रदर्शन प्रभावकारी नहुँदा नेपाल पराजित हुन पुगेको हो । नेपालका लागि शरद भेष्वास्करले सर्वाधिक ५५ रन बनाउँदा दीपेन्द्र सिंह एरीले ३६ रनको योगदान दिए ।

बलिङमा एक विकेट पनि लिन नसकेका सन्दिप लामिछानेले ब्याटिङमा भने २८ रन जोडेर नेपाली टिमलाई आशा जगाएका थिए । सन्दिपको बलिङ नै धारिलो हतियार मानिए पनि आज उनले विकेट लिन नसक्दा नेपाली दर्शक निराश भए भने ओमानलाई अझै सस्तोमा समेट्न सकिने सम्भावना असफल भयो ।

त्यसैगरी विनोद भण्डारीको २६ रन पनि खेर गयो । सुशन भारी ८ रनमा आउट हुँदा अविनाश बोहोरा ८ रनमा अविजित रहे । आरिफ शेख ६ रनमा आउट हुँदा रोहित कुमार पौडेल र करण केसी सुन्य रनमा आउट भए । नेपाललाई लक्ष्यसम्म पुग्न नदिन ओमनका जेहशान मकसुदले १० ओभरमा ३ विकेट लिए भने खालिमुल्लाह र बिलाल खानले २ विकेट लिएका थिए । पहिले ब्याटिङ गरेको ओमनका लागि मोहम्मद नदिमले अर्धशतकीय पारी खेल्दै अभिजित ६७ रन बनाउँदा सन्दीप गौडले ३३ रन बनाए ।

त्यस्तै जेसन मक्सुदले २० रन बनाउँदा अक्विब इल्यासले १६ रन बनाएका थिए । नेपालका करण केसीले ४ विकेट लिए । डेब्यु खेलाडी सुशन भारीले ३ विकेट हात पारे । यस्तै दिपेन्द्र सिंह ऐरीले १ विकेट हात पारे । सन्दीप लामिछाने भने विकेट विहीन बनेका छन् । त्रिकोणात्मक सिरीजको खेलतालिका अनुसार माघ २३ गते ओमन र अमेरिकाबीच खेल हुनेछ । यस्तै, माघ २५ गते नेपाल र अमेरिका भिड्दा माघ २६ गते भने नेपालले ओमनसँग पुनः प्रतिस्पर्धा गर्नेछ ।

माघ २८ गते अमेरिका र ओमन र माघ २९ गते नेपाल र अमेरिकाबीच खेल हुनेछ । लिग २ विश्वकप पुग्ने रोडम्याप हो । जसमा नेपालसहित स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (युएई), नामिबिया, ओमान, पपुवा न्युगिनी र अमेरिका छन् । नेपालबाहेक अन्य राष्ट्रहरुले आफ्नो पहिलो खेल खेलिसकेका छन् । अहिलेसम्म अंक तालिकामा अमेरिका शीर्ष स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्