काठमाडौं, २७ माघ । मुना अधिकारी कार्कीको हत्या र विजय चौधरीको आत्महत्या भित्रको रहस्यको एउटा पर्दा खुलेको छ ।
पूर्व सचिव अर्जुन कार्कीको ललितपुर सानेपा स्थित निवासमा भएको हत्या र आत्महत्या प्रकरणको पर्दा खोलेको हो उनकै घरमा रहेका केही सिसीटिभीका भिडियो दृष्यले ।
कार्कीले घरको सुरक्षाका लागि केही सिसीटिभी राखेका थिए । तर, त्यसले सुरक्षा भने दिन सकेन । सिसिटिभीमा देखिए अनुसार १० बजेर २० मिनेटमा घरका सहयोगी विजय चौधरी भान्सामा पसेको देखिन्छ ।
हत्याकाण्ड लगत्तै प्रहरीले कार्की निवासको सिसिटिभी फुटेज नियन्त्रणमा लिएको थियो । प्रहरी स्रोतले भन्यो– ‘भान्सामा पसेपछि विजयले मुनालाई घाटीमा डोरीले बाँध्न खोज्छन् । मुनाले प्रतिवाद गर्छिन् ।’
मुनाले प्रतिवाद गरेपछि लडाएर विजयले भुईंमा मुनाको टाउको ठोक्काउँछन् । उनले प्लाष्टिकको पिर्काले मुनाको टाउकोमा बारम्बार हान्छन् । बाग्मती प्लाष्टिक लेखिएको त्यो पिर्का मुनाको टाउकोमा गरिएको प्रहारले भाचिन्छ ।
२० मिनेटभन्दा धेरै समय उनले भान्सामा राक्षसी तरिकाले बिताउँछन् । रगतको आहालमा डुब्छिन् मुना । उनी चिच्याउँछिन्, कराउँछिन् तर धेरै बेर प्रतिरोध गर्न सक्दिनन् ।
लगभग निष्प्राण भएर लमतन्न पर्छिन् मुना । काठमाडौं र ललितपुरका प्रहरीले यो दर्दनाक भिडियो दृष्य आज हेर्नपरेको छ ।
एक प्रहरी अधिकारीले सनराइज खबरलाई भने– ‘सिसिटिभी फुटेज हेर्दा म्याडम (मुना कार्की) त्यहिँ निष्प्राण भए झैं देखिनुहुन्छ ।’
त्यसपछि सिसिटिभीमा विजय भान्छाबाट बाहिरिएको देखिन्छ । भर्याङ नजिकै डाइनिङ रुममा उनी पासो लाग्छन् ।
यसरी मुना र विजय दुवैको इहलीला समाप्त हुन्छ ।-राजेश भण्डारीले सनराइजखबरका लागि तयार पारेको रिपोर्ट