काठमाडौं, २८ माघ । त्रिभुवन आर्मी क्लब सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा ब्रिगेड ब्वाईज क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै आर्मी शीर्ष स्थानमा उक्लिएको हो ।
आर्मीको जितमा कप्तान भरत खवास, विकास तामाङ र टेक बहादुर बुढाथोकीले एक–एक गोल गरे । खेलको पाँचौं मिनेटमा कप्तान भरतले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए । भरतले जर्ज प्रिन्स कार्कीको क्रसमा हेड गोल गरेका थिए ।
खेलको ५४ औं मिनेटमा विकास तामाङले गोल गर्दै आर्मीको अग्रता २-० को बनाए । उनले सन्तोष तामाङको पासलाई सदुपयोग गरे । त्यसपछि खेलको ७० औं मिनेटमा टेकले गोल गर्दै आर्मीलाई ३-० को जित दिलाए । उनले ब्रिगेडका किपर विशाल सुनारले पन्च गर्दै फ्यालेको रिबाउन्ड बलमा गोल गरेका थिए ।
जितसँगै आर्मीले उपाधि होड बलियो बनाएको छ । र, शीर्ष स्थानमा १ अंकको अग्रता बनाएको छ । आर्मीले १२ खेलमा २९ अंक जोडेको छ । दोस्रो स्थानको मछिन्द्रको २८ अंक रहेको छ । पराजित ब्रिगेड ८ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
आर्मीको जितसँगै लिगको उपाधिको छिनोफानो अन्तिम खेलले तय हुने भएको छ । लिगको अन्तिम चरणको अन्तिम खेलमा आर्मी र मछिन्द्रबीच प्रतिस्पर्धा हुनेछ ।
आर्मी र मछिन्द्रबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फागुन ३ गते हुनेछ । आर्मीलाई उपाधि जित्न बराबरीले पुग्नेछ भने मछिन्द्रलाई स्पष्ट जितको आवश्यकता रहेको छ।