काठमाडौं, माघ २९ । सरकारले चीनमा रहेका नेपालीको उद्वारको तयारी अन्तीम चरणमा पुगेको जनाएको छ । स्वास्थ्य मन्त्रालयको नेतृत्वमा अन्य मन्त्रालय र सम्बन्धित निकायबीच समन्वयात्मक रूपमा उद्धारको तयारी पुरा भएको ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बताएका छन्। उद्धार, स्वास्थ्य जाँच र निगरानीका लागि सेना, सशस्त्र प्रहरी, स्वास्थ्य, पाइलट, चालक दलका सदस्य, विमानस्थलका कर्मचारी गरी सयभन्दा बढीलाई तालिम दिइएको मंगलबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा मन्त्री ढकालले भने। तालिमप्राप्त व्यक्ति उद्धारदेखि क्वारेन्टाइनमा खटिने उनको भनाई छ ।
‘बेइजिङस्थित नेपाली दूतावासको पहलमा वुहानलगायत सहरमा रहेका नेपाली विद्यार्थीलाई फर्काइन लागेको हो। त्यसका लागि मन्त्रिपरिषद्ले निर्णय गरेको तीन दिनभित्र नेपाल वायुसेवा निगमको जहाज चीन पठाइनेछ।’ मन्त्री ढकालले भने ‘अनुसार उद्धार गर्न जाने चिकित्सकलगायत स्वास्थ्यकर्मी र पाइलटसहित चालकदलका सदस्यलाई निश्चित अवधिसम्म निगरानीमा राख्ने व्यवस्था मिलाइएको छ।’
मन्त्रीका अनुसार चीनबाट आउने विद्यार्थी संक्रमित पाइए उपचारका लागि विभिन्न अस्पतालमा १ सय ९९ शड्ढया तयारी अवस्थामा राखिएको बताएका छन्। महिलाका लागि छुट्टै एउटा ब्लक छ र पुरुषका लागि तीनवटा ब्लक तयारी अवस्थामा रहेको समेत उनले बताए ।
मन्त्रालयका सचिव खगराज बरालका अनुसार एक साताभित्र उद्धार गर्न बुधबार नेपाल वायुसेवा निगमले समेत चीन जाने पाइलटको बारेमा छलफल गर्ने बताए । निगमको विमान मार्फत उनीहरुलाई नेपाल ल्याउने तयारी गर्न सरकारले दिएको निर्देशन बमोजिम निगमले वाइडबडी ए(३३० विमान चीन पठाउने तयारी गरेको उनले जानकारी गराए ।तर, निगमले भने सरकारको निर्देशन कुरिरहेको बताएको छ ।
यसअघि नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको नेपालको निजी क्षेत्र र चीन सरकारको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सको विमानलाई पनि नेपालीको उद्धारका लागि चीन पठाउने बताइएको थियो । पछिल्लो पटक हिमालयले चीनमा उडान गर्ने सबै गन्तव्यका उडान स्थगित गरिसकेको छ। कोरोना भाइरस प्रभावित क्षेत्रबाट उद्धार गरिने नेपालीहरुलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी आगामी १५ तारिख अर्थात फागुन ३ गते चीन जाने पर्यटन मन्त्रालय स्रोतले जनाएको छ ।