काठमाडौँ, ६ फागुन : सभामुख अग्निप्रसाद सापकोटासँग युरोपेली मुलुकका राजदूतले भेटघाटको क्रमलाई बढाएका छन् । सभामुख सापकोटासँग सोमबार नेपालका लागि नर्वेका राजदूत लस्से ब्जोम जोहानेसनले शिष्टाचार भेट गरी बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिएका छन् । भेटमा नर्वेली राजदूतले नेपालको आर्थिक तथा समाजिक क्षेत्रमा पु¥याउँदै आएको सहयोगलाई नर्वेले जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सोमबार नै नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का आवासीय प्रतिनिधि आइसाने मेडागान्गोडा लबेले सभामुख सापकोटालाई भेटेर बधाई ज्ञापन गरे । युएनडिपी प्रतिनिधि लबेले हाल नेपालमा विभिन्न २६ क्षेत्रहरुमा काम गरिरहेको जानकारी गराउँदै आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।
यसअघि यही फागुन २ गते सभामुख सापकोटासँग नेपालका लागि चेक गणतन्त्रका गैरआवासीय राजदूत मिलान होभोरकाले भेटेर सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । गत माघ १३ गते सभामुख पदको शपथ लिएका सापकोटासँग निर्वाचित भएलगत्तै चीन, भारत र जापानका राजदूतले प्रत्यक्ष भेट गरी शुभकामना दिसकेका छन् ।