काठमाडौँ, ८ फाल्गुन । पाटन नगरकी उनलाई आफ्नो उमेर यकिन छैन । जन्मघर भारत रहेको थाहा भए पनि ठाउँबारे जानकारी छैन । पाँच वर्षकी छँदा उनलाई बैतडीको पाटनका भण्डारी थरका व्यक्तिले दशरथचन्द नगरपालिका–२ को निंगलाशैनी मन्दिरमा ‘देवी’ चढाउन भनेर ल्याएका हुन् । पूजाआजा भएका दिन मन्दिरमै बस्नुपर्थ्यो ।
अघिपछि देवी चढाउनेले त्यही किनारमा बनाइदिएको सानो छाप्रोमा बस्थिन् । त्यही छाप्रोमा उनले वर्षौं बिताइन् । अहिले गाउँमा मागेर गुजारा चलाइरहेकी छन् । ‘गाउँलेकै भरमा छाक टरिरहेको छ,’ उनले भनिन् । उनलाई आमाबाबुको सम्झना छैन, बिहे पनि भएको छैन, तर दुई छोरा र तीन छोरी गरी पाँच सन्तान छन् । जेठो छोरा र दुई छोरीको विवाह भइसक्यो । कान्छो छोरा रोजगारीका लागि भारतमा छन् । कान्छी छोरी उनीसँगै छिन् । ‘देउता’ सँग विवाह भएको भनेर सिन्दूर लगाउने उनी छोराछोरी कसका हुन् भन्न सक्दिनन् । देउकी बसेकालाई जसले पनि यौनजन्य हिंसा गर्ने भएकाले छोराछोरी कसका हुन् थाहा नभएको उनले बताइन् । ‘मन्दिरमा चढाएकाले यस्तै गर्नुपर्छ भन्ने गरिएको थियो,’ उनले भनिन्, ‘मसँग दैनिक २र३ जना पुरुष मान्छे आउँथे, भाग्य यस्तै हो भनेर सहेर बसेँ, छोराछोरी जन्मिए ।’
जान्ने–बुझ्ने भएपछि छोराछोरीले ‘बुवा खै’ भनेर सोधेको सम्झँदै उनले भनिन्, ‘तम्रा बुवा भगवान् हुन्, मरिसके भनेर भन्छु । छोराछोरीले सोधेको प्रश्नको उत्तर मसँग छैन ।’ यो उमेरसम्म आइपुग्दा पाएका हन्डरबारे बताउँदा उनी भक्कानिन्छिन् । ‘राम्ररी खानलाउन पाइनँ, चप्पल धरी लगाउन पाइएन,’ उनले भनिन्, ‘अरूको इच्छा पूरा गर्दागर्दै आफ्नो जीवन भताभुंग भयो ।’ आफूलाई मन्दिरमा चढाउनेले छोरीलाई पनि चढाउँछौं भनेको उनलाई सम्झना छ । अब जमाना फेरिइसकेकाले छोराछोरीको बिहे गरिदिएको उनले बताइन् । पैसाकै अभावमा उनले सबै छोराछोरीलाई पढाउन सकिनन् । पढेकाले पनि १० कक्षा पास नगर्दै पढाइ छाडे । ‘कान्छी छोरी ६ कक्षामा पढिरहेकी छ,’ उनले भनिन्, ‘उसलाई पनि कापीकलम किन्ने पैसा हुँदैन । भारतमा मजदुरी गरिरहेका छोराहरूको कमाइ उनीहरूलाई नै ठिक्क हुने गरेको उनले बताइन् । (कान्तिपुर दैनिकबाट)