काठमाडौं, १८ फागुन। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पार्टी सचिवालयले गरेको हरेक निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले मान्नुपर्ने बताएका छन् । पार्टीको निर्णय नमाने गम्भिर दुर्घटना हुने पनि उनको चेतावनी थियो । शनिबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री भट्टले यस्तो बताएका हुन् ।
उनले वर्तमान सरकार सफलताको बाटोतर्फ उन्मुख रहेको पनि दाबी गरे ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री भट्टले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन निर्णय गर्नु नै गलत भएको टिप्पणी गरेका छन् । यो प्रकरणले गर्दा पार्टी र सरकारको सम्बन्ध नबिग्रिएको पनि दाबी गरे । उनले अहिले पार्टीमा समस्याभन्दापनि भिन्न मत आएको स्पष्ट पारे ।