काठमाडौं, १८ फागुन । हिन्दुकुश क्षेत्रमा पानीको संकट बढ्दै गएको छ । जसका कारण काठमाडौंसहित सँसारका १३ शहरहरुमा पानीको अत्याधिक संकट बढेको अध्ययनले देखाएको छ । ती शहरहरुमध्ये नेपालको चितवन जिल्लाको भरतपुर, पाल्पाको तानसेन र तनहुँको दमौली छन् ।
भारतको मसुरी, दीप्रयाग, सिंगटाम, कालिम्पोङ र दार्जिलिङ छन् भने पाकिस्तानको मुरीई र हभेलियान र बँगलादेशको सिलहेट र चितागोङ छन् । अफगानिस्तानदेखि पाकिस्तान, भारत, नेपाल, भुटान, बँगलादेश, बर्मा र चीनसहित आठ देशको आठ सय किलोमिटर क्षेत्रको पर्वतमाला हिन्दुकुशमा पर्छन् ।
इसिमोडको अध्ययन जर्नल वाटरमा आइतबार प्रकाशित अध्ययनले पर्याप्त पानी भएको मानिएका यी क्षेत्रहरुमा पानीको संकट बढ्नुमा हिमालय क्षेत्र सुख्खा हुँदै जानुलाई कारण मानिएको छ । तिव्र शहरीकरण, बढ्दो जनसंख्या, पर्यटक वृद्धि मुख्य कारण देखिएको छ ।
इसिमोडले गरेको अध्ययनले अतिक्रमण, प्राकृतिक पानीका स्रोतको दोहोन र परम्परागत पानीका प्रणालीहरु लोप हुँदै गएको तथ्य फेला परेको छ । खोला, पोखरी, ताल, कुलो र नदी जस्ता पानीका स्रोतहरु बिग्रदै गएको र परम्परागत पानी व्यवस्थापनका माध्यम इनार, कुवा र स्थानीय पानी संकलनहरु लोप हुँदै गएको देखाएको छ ।
हिन्दुकुश क्षेत्रमा तीन प्रतिशत जनसंख्या ठूला शहरमा र आठ प्रतिशत साना शहरमा बस्दै आएकोमा सन् २०५० मा ५० प्रतिशत मानिस शहरमा बस्ने प्रक्षेपण गरेको छ । त्यतिबेलासम्म पानीको भयावह संकट आउनसक्ने चेतावनी दिइएको छ ।