काठमाडौं, १९ फागुन । मिर्गौलाको पूनः प्रत्यारोपणको लागि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । त्रिवि शिक्षण अस्पतालमा यही बुधबार उनको मिर्गौलाको पूनः प्रत्यारोपण हुने भएको छ ।
यसको सम्पूर्ण तयारी भैसकेको छ । हाम्रा सहकर्मी मुकुन्द कालिकोटेकाअनुसार प्रधानमन्त्री ओलीसँगै उनलाई किड्नी डोनेटको लागि उनकी भान्जी समीक्षा संग्रौला ज्ञवाली पनि अस्पताल पुगिसकेकी छिन्। प्रधानमन्त्री ओलीलाई अस्पताल परिसरमा त्रिवीका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटा, अस्पतालका कार्यकारी निर्देशक डा. प्रेम खड्गा लगायतले स्वागत गरेका थिए ।
प्रधानमन्त्रीको प्रत्यारोपण र त्यसअघि र पछिका उपचारका प्रक्रियामा खटिने टिममा डा उत्तम शर्मा, डा प्रेम ज्ञवाली, डा पवनराज चालिसे, डा दिव्या सिंह शाह, डा सुवाश आचार्य लगायत रहेका छन्। यस्तै उक्त टोलीमा दुई जना एनेस्थेसियाका डाक्टर र ८ जना नर्स तथा स्वास्थ्यकर्मी समेत रहने छन्। तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम