काठमाडौं, २१ फागुन । पार्टी एकीकरणपछि विभिन्न दृष्टिले छायाँमा पार्दै लगिएका वरिष्ठ नेता माधवकुमार नेपाल नेकपामा पुनः शक्तिशाली बन्ने अवस्था पैदा भएको छ ।
एमाले र माओवादीबीच एकीकरण भएपछि प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र द्वितीय अध्यक्ष प्रचण्डबीचको छलफल तथा सहमतिका आधारमा मात्र प्रायः निर्णय हुँदै आएका थिए । कुनै समय माओवादीका निम्ति सबभन्दा ठूलो चुनौती बन्नुभएका नेता केपी शर्मा ओलीले गत आमनिर्वाचनमा माओवादीसँग गठबन्धन गरेर बाँकी संसारलाई स्तब्ध बनाएका थिए। निर्वाचनमा नेकपालाई अपार सफलता प्राप्त भएपछि पार्टी एकीकरण हुनेमा आशङ्का बढिरहेका बेला केपीकै विशेष अग्रसरतामा पौने दुई वर्षअघि पार्टी एकीकरण भएको थियो ।
यस अवधिमा आफ्ना पुराना सहकर्मी नेता माधवकुमार नेपाललाई भन्दा माओवादी पृष्ठभूमिका प्रचण्डलाई अधिक महत्व दिने काम पनि अध्यक्ष ओलीबाट हुँदै आएको हो । तीन महिनाअघि प्रचण्डलाई ‘कार्यकारी अध्यक्ष’को हैसियत दिएर केपीले प्रचण्डलाई थप बलियो बनाइदिएका थिए । यसरी केपी ओलीबाट ‘लिन सक्ने जति’ लिइसकेपछि प्रचण्ड भने केपीलाई नै समाप्त गर्न उद्यत भए ।
‘कार्यकारी’को हैसियत प्राप्त हुँदा अध्यक्ष केपी ओली र प्रचण्डबीच दुईवटा मूल सम्झौता भएको थियो । दुवै अध्यक्षको सहमतिबाट मात्र हरेक निर्णय लिने र केपी नेतृत्वको वर्तमान सरकारलाई पाँच वर्ष पूरै निरन्तरता दिने सम्झौता भएकोमा प्रचण्डले सभामुख चयनलगायतका केही महत्वपूर्ण विषयमा अध्यक्ष केपीसँग सहमति बनाएनन् । बरु पार्टीमा तीव्र चलखेल गर्दै ‘एमाले’का अन्य नेतालाई समेत आफ्नो चङ्गुलमा पारेर आफैँले चाहेका व्यक्तिलाई सभामुख चयन गरे । यसरी अग्नि सापकोटालाई सभामुख बनाउन सक्नुलाई प्रचण्डले केपीमाथिको महान् विजय ठाने ।
यो ‘सफलता’लगत्तै प्रचण्डले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट पनि हटाउने खेल शुरु गरेका छन् र प्रचण्डको पछिल्लो खेलबारे स्वयम् प्रधानमन्त्री अवगत रहेको बताइन्छ । सहमतिमा मात्र निर्णय लिइने पूर्वसहमति तोडिएको र सरकारको नेतृत्व बदल्ने षड्यन्त्र पनि गरेकोले केपीका दृष्टिमा प्रचण्ड एक ‘विश्वासघाती’ पात्रका रूपमा देखा परे । त्यसैले केपी ओली अब प्रचण्डलाई विश्वास गर्ने मानसिकतामा नरहेको बुझिन्छ । त्यसैले कुनै पनि दिन प्रचण्डलाई दिइएको ‘कार्यकारी’ हैसियत फिर्ता गर्ने प्रक्रिया अघि बढ्यो भने पनि कुनै आश्चर्य हुनेछैन ।
प्रचण्डसँगको सम्बन्ध अफापसिद्ध भएकोले केपी र माधवबीचको सम्बन्धमा व्यापक सुधार हुने सम्भावना बढेको छ । माधव नेपालका कतिपय समर्थकहरू आफ्नो निजी राजनीतिक स्वार्थका निम्ति केपीसँग माधवको सम्बन्ध सुधार हुन नदिने पक्षमा देखिएका छन् । माधव र केपीबीच मिलाप हुँदा आफू ‘नो ह्वेर’ हुने चिन्ताले दोस्रो– तेस्रो पुस्ताका कतिपय नेतालाई सताएको छ । तर, अब केपी स्वास्थ्यलाभ भएर फर्किएपछि उनले पार्टीभित्रको सद्भाव र एकतालाई उच्च प्राथमिकताका साथ अघि बढाउने र त्यस क्रममा माधव र केपीबीचको समझदारीले पूर्वएमालेका नेता–कार्यकर्तालाई एकताबद्ध गराउने ठानिएको छ ।
माधवकुमार नेपालले केपीसँग समझदारी बढाएर जान चाहेको भए पनि यसअघि केपीले माधवलाई भन्दा प्रचण्डलाई प्राथमिकता दिँदै आएका थिए । प्रचण्डको अविश्वसनीय भूमिकाका कारण केपी ओली माधव नेपालसँगको सहकार्यलाई प्राथमिकता र स्थायित्व दिने निष्कर्षमा पुगेको बुझिएको छ । माधव नेपालसँग समझदारी बनेमा त्यसको प्रभाव वामदेव गौतम, झलनाथ खनाल र पार्टीका अन्य नेता–कार्यकर्तामा समेत पर्नेछ ।
पहिले माओवादी पार्टीमा रहेका कतिपय नेता–कार्यकर्तासमेत प्रचण्डको कार्य–व्यवहारबाट आजित भएका छन् । यसरी प्रचण्डबाट हैरान नेता–कार्यकर्ताको साथ पनि माधव–केपी एकताकै पक्षमा हुन सक्ने देखिन्छ । यसप्रकारको एकताले पार्टीमा केपीपछिको नेतृत्वबारे उत्पन्न अन्योलको पनि अन्त्य गर्ने निश्चित मान्न सकिन्छ । केपीको कार्यकालपछि पार्टी अध्यक्ष र प्रधानमन्त्री पनि माधवकुमार नेपाल नै बन्ने सन्देश पार्टीमा प्रवाह हुने र त्यसले उनलाई पार्टीको सर्वाधिक शक्तिशाली नेता बनाउने अब निश्चितजस्तै छ । केपी–माधवको एकतापछि सबैभन्दा ठूलो सकसमा प्रचण्डलाई पुऱ्याउने देखिएको छ, प्रचण्डको राजनीति सम्भवतः विसर्जनको अवस्थामा पुग्यो भने पनि अब आश्चर्य मान्नु नपर्ने हुन सक्छ ।- घटना र विचार साप्ताहिकबाट