Logo

राजमार्गका होटलमा सरकारी अनुगमन



काठमाडौ, फागुन २३ । जिल्ला प्रशासन कार्यालय तनहुँले पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका र म्याग्दे गाउँपालिकामा सञ्चालित होटल तथा रेष्टुरेन्टको बिहीबार अनुगमन गरेको छ । उपभोक्ताहरुसँग चर्को मूल्य लिने गरेको गुनासो आएपछि कार्यालयले सात वटा होटलमा अनुगमन गरेको सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले जानकारी दिए ।

अनुगमनका क्रममा होटलहरुको मूल्यसूची सङ्कलन गरिएको र मूल्यसूचीका सम्बन्धमा सरोकारवालासँग छलफल गरी मूल्यसूचीलाई सरल बनाउन पहल गरिने उनले बताए ।
अनुगमनका क्रममा व्यास नगरपालिका–५ स्थित गोर्खाली होटलले बिनादर्ता होटल सञ्चालन गरेको पाइएकोले सात दिनभित्र दर्ता गरी प्रशासन कार्यालयमा उपस्थिति हुन निर्देशन दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख शिवजी बरालले जानकारी दिए । त्यस्तै सोही वडाको स्पीड ब्रेकर कटेजलाई सरसफाइमा सुधार गर्न, दुना टपरी रेष्टुरेन्ट एण्ड लजलाई डिफ्रिजमा छुट्टाछुट्टै खाद्य सामग्री राख्न निर्देशन दिइएको छ ।

त्यस्तै ए फोर खाजा घरले मूल्यसूची नराखेकोले सात दिनभित्र मूल्यसूची राखेर प्रशासनमा जानकारी गराउन र भान्साको सरसफाइमा ध्यान दिन निर्देशन गरिएको छ । व्यास नगरपालिका–५ स्थित ग्रीनहिल रेष्टुरेन्ट, होटल माउण्टेन रिभरभ्यू र म्याग्दे गाउँपालिका–१ स्थित ओरिजिनल हाइवेमा भने सरसफाइको अवस्था सन्तोषजनक पाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी अर्यालको नेतृत्वमा भएको अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख बराल, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछाने, उपभोक्ता मञ्च तनहुँका अध्यक्ष खेमराज अधिकारी, होटल सङ्घका केन्द्रीय सदस्य प्रेमकुमार श्रेष्ठ, क्षेत्रीय होटल सङ्घका लालप्रसाद तिमिल्सिनालगायत सञ्चारकर्मी सहभागी थिए ।-रासस



प्रतिक्रिया दिनुहोस्