काठमाडौं, २४ फागुन । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष तथा नेपाल सरकारको उपभोक्ता संरक्षण परिषदका सदस्य प्रेमलाल महर्जनले नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण नदेखिएको सुनाउँदै यसबारेमा अनावश्यक डर, त्रास र भय नफैलाउन आग्रह गरेका छन् । उनले भने,‘यसको डर, त्रास र आतंक सिर्जना गरेर अहिले कालोबजारीको थप आतंक मच्चाउने काम भएको छ । यो अत्यन्तै दुःखद् कुरा हो ।’
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अहिले साधारण मास्कको ३० देखि ४० रुपैयाँ पर्न थालेको र अत्यावश्यक वस्तुमा कालोबजारी गर्नेलाई कुनैपनि हालतमा छोड्न नहुने तर्क गरे । उनले भने,‘त्यस्तो कालोबजारी गर्नेलाई कारबाही गर्नुपर्छ ।’ उनले तत्काल प्रभावकारी रुपमा बजार अनुगमन गर्नसमेत सरकारलाई सुझाव दिए । यस्तो अवस्थामा कालोबजारी गर्नु भनेको आपत्तिजनकमात्रै नभएर ठूलो अपराध भएको पनि उनले सुनाए । उनले यदि कसैले कालोबजारी गरेको पाए कालोबजारी ऐन–२०३० अन्तर्गत कारबाही गर्नुपर्ने पनि बताए ।
उनले कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रणको लागि एकीकृत प्रयास र अनुगमन गर्नुपर्ने पनि सुझाव दिए । उनले भने,‘कोरोनाको बारेमा अहिले जसरी सामाजिक सञ्जामार्फत गलत प्रचार भैरहेको छ । यसरी भाईरल गर्ने काम नगरौं ।’ उनले बजार अनुगमन व्यापक हुनुपर्ने माग गरे । वाणिज्य विभागसँग अनुमनको लागि जम्मा १२ जना कर्मचारी रहेको सुनाउँदै उक्त जनशक्ति अत्यन्तै कम भएको पनि महर्जनले औंल्याए । उनले भने,‘म सरकारलाई यहीँबाट जनशक्ति थप्नको लागि आग्रह गर्न चाहन्छु ।’