Logo

सिन्धियाको विद्रोहले मध्यप्रदेशमा कँग्रेस आईको सत्ता ढल्दै



एजेन्सी, २७ फागुन । कँग्रेस आईका प्रभावशाली नेता ज्योतिरादित्या सिन्धियाको राजीनामाले भारतको मध्य प्रदेश सरकार ढल्ने निश्चितप्रायः भएको छ । सिन्धियाले मंगलबार पार्टी अध्यक्ष सोनिया गान्धीलाई सम्बोधन गरी राजीनामा लेखेका छन् । उनको राजीनामा पार्टीले निष्काशन गरेको केही मिनेटमै आएको हो ।

हिजो अचानक सिन्धियाले भारतीय जनता पार्टीका प्रभावशाली नेता अमित शाहलाई भेटेका थिए । शाहसँगको भेट अघि नै मध्यप्रदेश सरकार ढाल्ने तयारी भइसकेको थियो । शाहसँगको भेटपछि सिन्धिया भारतीय जनता पार्टीमा जाने निश्चित गरिएको थियो । उनले भाजपाबाट मध्यप्रदेश क्षेत्रमा हुने चुनावमा भारतको राज्यसभाको टिकट पाउने भएका छन् ।

सिन्धियाले कँग्रेस आई छाड्दा उनको साथमा २० सांसदले समेत छाड्ने बुझिएको छ । उनलाई कँग्रेस आईका २० सांसदको समर्थन छ । ती सांसदले कँग्रेस छाडेमा मध्यप्रदेश सरकारले विश्वासको मत गुमाउनेछ । मध्य प्रदेशको २३० सदस्यीय संसदमा ११४ कँग्रेस सदस्य रहेकामा चार स्वतन्त्र,तीन समाजवादी पार्टी र दुई बहुजन समाजवादीपार्टीको समर्थन सरकारलाई रहेको छ । दुई सिट खाली छ भने भाजपाको १०९ सांसद छन् ।

कँग्रेस आईबाट मुख्यमन्त्री भएका कमलनाथको सरकार दुई वर्षमै ढल्ने अवस्था बनेको हो । यसअघि तीन कार्यकाल मुख्यमन्त्री भइसकेका शिवराजसिंह चौहान सरकारले बहुमत ल्याउन नसकेपछि मध्यप्रदेशमा कँग्रेस आई नेतृत्वको गठबन्धन सरकार बनेको थियो ।

स्वर्गीय माधवराज सिन्धियाका छोरा हुन् ज्योतिरादित्य सिन्धिया । उनले आफ्नो बाबुको जन्मदिन पारेर कँग्रेस आई छाडेका हुन् ।



प्रतिक्रिया दिनुहोस्