Logo

नेकपाभित्र के पाक्दैछ



काठमाडौं, १ चैत्र । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली ३० फागुनमा अस्पतालबाट डिस्चार्ज हुनअघि खुमलटारमा एउटा बैठक बस्यो । त्यो बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम थिए । प्रचण्डनिवासमा तीन नेताको बैठक बसी एउटा सन्देश दियो ।

प्रचण्ड, नेपाल र गौतम सरकार पार्टीको निर्णय र निर्देशन अनुसार चल्नुपर्नेमा एकमत भए । उनीहरुले अब बस्ने मन्त्रिपरिषद् बैठकबाट उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न ओलीलाई दबाब सृजना गर्ने टुंगो लगाए । पार्टी सचिवालय बैठकले गौतमलाई मनोनित गर्ने निर्णय गरिसकेकाले त्यसबाट यताउता हुन नहुनेमा तीनैजना एकमत भएका थिए ।

ओलीको अस्पताल बसाईंले नेकपाभित्र पेचिलो बन्दै गरेको वामदेवको राष्ट्रियसभा सदस्यको मनोनयनको विषय ओझेलमा परेको थियो । अब ओली मृगौला प्रत्यारोपण गरी बालुवाटार फर्किइसकेकाले पार्टी र सरकारको कामकारबाहीले गति पाउनुपर्नेमा नेताहरुको जोड थियो । यसका लागि आवश्यक कदम चाल्नेबारे समेत नेताहरुले छलफल गरेका थिए ।

ओली बालुवाटार पुग्नु अघि नेकपाका तीन प्रभावशाली नेताहरुको बैठक अर्थपूर्ण रह्यो । विश्वस्त स्रोतका अनुसार गौतमले पार्टीको सांगठनिक गतिविधिले गति पाउनुपर्नेमा जोड दिएका थिए । यसमा नेपाल पनि सहमत भएका थिए । अब सचिवालय बैठक डाकेर आवश्यक कदम चाल्नुपर्नेमा तीनैजना सहमत भएका थिए ।

गौतमले सचिवालयको निर्णय टुंगोमा पुग्नुपर्ने बताएका थिए । ओलीले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न नचाहिंरहँदा गौतमले पार्टी सचिवालयको निर्णय नमाने कडा कदम चाल्ने तयारी गरिसकेका छन् । उनले त्यस्तो अवस्थामा सचिवालय हुँदै ओलीविरुद्ध संसदीय दलमै हटाउने गरी अस्त्र तयार गरिसकेका छन् । यसबारे निकटस्थसँग पनि छलफल गरिसकेका छन् ।

गौतमको असन्तुष्टिलाई लिएर नेकपाभित्र तिव्र भेटघाट चल्दै आएको छ । महासचिव विष्णु पौडेल, ओलीका विश्वासपात्र मानिने प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायतले सहमतिको बिन्दु तयार गर्न व्यक्तिगत रुपमा गौतमलाई भेटेर छलफल गरिसकेका छन् ।

यसैगरी, पार्टी निर्णय मान्न वाध्य पार्न दबाब दिन नेकपाका ओलीइतरका नेताहरुको बैठक पटक पटक बस्दै आएको छ । यसै हप्ता झलनाथ खनालको निवासमा नेकपाका प्रभावशाली नेताहरुको बैठक बसेको थियो ।

नेकपाभित्र गुटहरुको भिन्न भिन्न बैठक चलिरहेको छ । ओली पक्षले पनि कहिले माधवकुमार नेपाललाई त कहिले झलनाथ खनाल र वामदेव गौतमलाई भेटेर सहमति खोज्ने प्रयास गर्दै आएका छन् । ओली पक्ष माधव नेपाललाई मनाउन लागिपर्दा इतर पक्ष पनि उनलाई नजिक बनाउन सक्रिय छ । घटनाक्रमले माधव नेपाललाई शक्तिशाली बनाउने माहोल तयार गरेको छ । ओलीको बर्हिगमनको सम्भावना बढेमा माधवकुमार नेपाललाई तयार गर्ने गरी एउटा पक्षले सक्रियता देखाइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्