काठमाडौँ, ६ चैत । घरमा आमासँगै रहेकी शुक्लागण्डकी–३ बन्केवाकी २१ महिने संस्कृति न्यौपानेलाई सोमबार साँझ चितुवाले झम्टियो। चितुवाको पन्जामा परेकी संस्कृतिलाई आमा इन्दिराले ज्यानकै बाजी राखेर खोसिन्। घाइते संस्कृतिको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार बालिकाको स्वास्थ्य अवस्था सामान्य छ।
यसअघि फागुन २८ मा पनि आमासँगै छिमेकीको विवाहमा जाँदै गर्दा बन्दीपुर गाउँपालिका–५ याम्पाफाँट कुमालटारीका ७ वर्षीय अनुप नेपालीलाई चितुवाले आक्रमण ग¥यो। आमा मीराको पछिपछि रहेका अनुपलाई चितुवाले बीचबाटै खोस्ने प्रयास गरेको थियो। अनुपसँगै अरु दुई बालबालिका पनि थिए। तर दुई बालबालिकाको माझमा रहेका अनुपलाई चितुवाले आक्रमण गरी लडायो। तत्काल आमा मीराले देखेर ढुंगामुढा गर्दा चितुवा अनुपलाई छाडेर भाग्यो। चितुवासँग लडेर मीराले छोराको ज्यान बचाइन्। चितुवाले घाँटीमा चिथोरेर घाइते भएका उनलाई गण्डकी अस्पतालमा एक साता उपचारपछि घर ल्याइएको छ।
त्यस्तै तनहुँकै बन्दीपुर–४ लोहीपाखामा माघ १३ गते गाउँमा भोज खाएर आमासँगै घर फर्कंदा १० वर्षीय इसक सुनारलाई पनि चितुवाले आक्रमण ग(यो। आक्रमणबाट इसकको घटनास्थलमै ज्यान गयो। आमा पवित्राको अघिअघि हिँडिरहेका इसकलाई आक्रमण गरी चितुवाले खोल्सामा फ्याँकेको थियो। (नागरिक दैनिकबाट)