काठमाडौं, ६ चैत्र । राजपा नेपालकी महामन्त्री तथा प्रतिनिधिसभा सदस्य चन्दा चौधरीले प्रदेश नम्बर २ को नाम ‘मधेश प्रदेश’ राख्नको लागि सुझाव दिएकी छिन् । उनले आफ्नो फेशबुकमा लामो स्टाटस लेख्दै यस्तो सुझाव दिएकी हुन् । यसअघि प्रदेश नम्बर-२ को संसदमा प्रदेशको नाम र राजधानी तोक्नको लागि मतदान भएको थियो । मंगलबार भएको मतदानबाट पनि राजधानीबारे टुँगा नलागेपछि यस्तो सुझाव दिएकी हुन् ।
उनले मधेशको अस्तित्व नेपाली कांग्रेस र नेकपाले अस्वित्व नस्विकारेको समेत गुनासो पोखेकी छिन् । त्यस्तै, उनले कांग्रेस नजिक देखिने जनकपुरका नागरिक समाजको मधेश प्रतिको अल्प बुझाई राखेको र मधेश आन्दोलनले ल्याएको संघीयता चाहिने तर प्रदेशको नाम मधेश राख्न नहुने संकीर्ण मानसिकता देखिएको समेत टिप्पणी गरेकी छिन् ।
उनले एकल शासकीय प्रणालीमा रुमल्लिएको देशमा संघिय नेपालको परिकल्पना मधेशी राजनीतिबाट आएको समेत दाबी गरेकी छिन् । उनले भनेकी छिन्,‘ संघीयताको जननी हो मधेश आन्दोलन। त्यही मधेश आन्दोलन को जगमा उभिएर आज कोही मुख्यमंत्र र मन्त्री बनेका छन्। प्रदेश सरकार का विपक्षी दलहरु को अस्तित्व पनि मधेश आन्दोलनले ल्याएको संघीयता कै कारण रहेको छ।
लोकतन्त्रमा हरेक जनता को आफ्नो विचार राख्ने अधिकार हुन्छ। प्रदेश-२ को नाम र राजधानीबारे विचार राख्ने हरेक नेता र नागरिकको विचार लाई सलाम गर्छु म। तर मधेश प्रदेश नाम बाहेक का नाम प्रस्तावक हरुलाई मधेश शब्द किन पाच्य छैन? मधेश आन्दोलन ले ल्याएको आरक्षण (कोटा) को फाइदा मधेश शब्द संग घृणा गर्ने हरुले किन लिएका होलान्?’
के प्रदेशको नाम मिथिला राखेर मात्र मिथिलाको गौरवलाई जोगाउन सकिन्छ त ? भन्दै उनले प्रश्नसमेत तेर्साएकी छिन् । मिथिला सभ्यता जोगाउन मिथिला संग्रालयको स्थापना गर्नुपर्ने र मैथली भाषामा अध्यन अध्यापन लगायत विभिन्न उपायहरु अपनाउन सकिने सुझाव दिएकी छिन् ।
उनले राजधानीको सवालमा आफ्नो तर्फबाट केही उपायसमेत अघि सारेकी छिन् । उनले भनेकी छिन्,‘१. जनकपुर (महोत्तरीको केही भूभाग समेटेर) प्रशासनिक राजधानी, २. वीरगन्ज आर्थिक राजधानी र अन्य जिलाहरुलाई विशेष पहिचान र प्याकेज दिएर गर्न सकिन्थ्यो।’
उनले यी सबै काम गर्नको लागि अझैपनि ढिलाई नभएको स्पष्ट पारेकी छिन् । मधेशको अस्तित्वलाई माथि राख्दै प्रदेश-२ को नामाकरण र राजधानी घोषणा उनले माग गरेकी छिन् ।