Logo

सुधारिँदै प्रसूतिगृह



काठमाडौँ, ७ चैत । सरकारले एकै स्थलमा २५ जनाभन्दा बढीको भीडभाड नगर्न निर्देशन दिए पनि बिहीबार दिउँसो प्रसूतिगृह, थापाथलीमा बिरामीको ठूलै भीड थियो । विश्वभर कोरोना भाइरस (कोभिड–१९)को महामारी फैलिएपछि बुधबार मात्र सरकारले भीडभाड नगर्न निर्देशन दिएको हो ।

कोरोनाबाट बच्न सरकारले सावधानी अपनाउन सतर्क गराए पनि अस्पताल परिसरमा यसको अनुभव हुन सकेन । यहाँ यसका लागि उपयुक्त व्यवस्थापन हुन सकेको छैन । कहीँ कतै पनि हात धुन साबुन पानीको व्यवस्था गरिएको छैन । अस्पतालमा भेटिनुभएकी कुरुवा लक्ष्मी लामाले बताएका छन् । “हात धुने ठाउँ छैन, पानी छैन । भीडभाड छ । कोरोनाको डर छ । कतिन्जेल बस्ने यसरी ?”परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पतालका निर्देशक प्राडा जगदीश्वर गौतमले हात धुने र सूचनामूलक सामग्री ठाउँठाउँमा राख्न बुधबार नै आवश्यक तयारी भएको जानकारी दिए । उनले बिहीबार यसको व्यवस्थापन भइसक्ने स्पष्ट पारेका छन् । उनले भने, “धारा फिट गर्दैछौँ । हात धुने व्यवस्था पनि गर्छौं ।” शौचालयमा पनि सरसफाइको कमी देखिन्छ ।

शौचालयका कतिपय ढोकाका चुक्कुल फुस्किएका छन् । पर्याप्त मात्रामा सरसफाइ भएको छैन । कोरोनाको महामारीले धेरैतिर बन्द भए पनि प्रसूतिगृहमा बिरामीको चाप कम हुन सकेको छैन । विशेष गरी यहाँ सुत्केरी हुन, गर्भवती र स्त्रीरोगको उपचारका लागि आउने गर्छन् । यहाँ विशेष अवस्थाका बिरामी आउने हुँदा सङ्ख्या कम हुनसक्ने देखिँदैन । निर्देशक गौतमले प्रसूतिगृहको सेवा रोक्ने र बिरामी फर्काउन सक्ने अवस्था नभएको बताए । भिडियो एक्सरेका लागि कम्तीमा एक हप्तासम्म पालो कुर्नुुपर्ने अवस्था छ । अस्पतालामा जँचाउन आएका बेला समय लिएर मात्र पालो पाइन्छ । भिडियो एक्सरे गर्न पालो कुरिरहेकी २३ वर्षीया सुनिता परियारले भने, “छ÷सात दिनमा मात्र पालो आउँछ रे ।” प्रसूतिगृहबाट औसतमा दैनिक साढे ६६५ जनाले सेवा लिने गरेका छन् । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्