युएई, चैत ८ । सरकारले कोरोना नियन्त्रण एवं रोकथामका लागि आज मध्य रातीदेखि लागू हुनेगरी युरोप सहित विभिन्न मुलुकबाट अप्रिल १५ सम्म कसैलाई आउन नदिने निर्णय गरेसँगै खाडी मुलुकमा कार्यरत नेपालीहरु चिन्तित बनेका छन्।
महामारी नियन्त्रणका लागि गरिएको सकारात्मक निर्णय भएपनी टिकट काटेर घर जाने तयारीमा बसेका, भिसा सकिएका, घुम्न एवं पारिवारिक भेटघाटका लागि खाडीमा रहेका नेपालीहरु चिन्तित बनेका हुन।
अबुधाबीमा कार्यरत झापा बिर्तामोडका मोहन पनेरू युएई आएको ६ वर्ष पूरा भयो। यसपटक भिसा नविकरण नगर्ने सोचले उनले आफु कार्यरत कम्पनीमा राजीनामा गरिसकेका छन्। मार्च अन्तिममा उनको भिसा सकिंदैछ। त्यसलगत्तै उनले मुलुक छोड्नुपर्ने हुन्छ अन्यथा यहाँको कानुन बमोजिम उनलाई ठूलो जरिवाना लाग्छ। तर सरकारले बुधबार जारि गरेको आवगमनमा प्रतिबन्ध लगाउने निर्णयले उनको यात्रा अनिश्चित बनाई दिएको छ। भिसा सकिएपनि समयमै घर फर्किन नपाएपछि उनलाई कोरोनाको चिन्ता त छँदै छ जरिवानाको चिन्ताले समेत सताएको छ।
सरकारले कोरोनाको प्रकोप नियन्त्रण तथा रोकथामका लागि जारि गरेको आवगमन प्रतिबन्ध संबन्धि निर्देशनले खाडिमा कार्यरत पनेरु जस्ता हजारौं नेपाली चिन्तीत बनेका छन्। दुबईको एक वेभरेज कम्पनीमा सेल्स एसिस्टेन्टको रूपमा कार्यरत प्युठानका हुकुम विश्वकर्माको भिसा २० दिनपछि सकिंदैछ। उनको कम्पनी समेत बन्द हुने स्थितिमा छ। एक महिनादेखि उनी कामको खोजीमा धेरै ठाउँ धाईसके तर अहिलेसम्म काम पाउन सकेका छैनन्। कोरोनाले गाँजेपछी दुबईमा कम्पनीहरुले नयाँ कामदार राख्नै छोडेका छन्। यस्तो स्थितिमा आफुसंग घर फर्किने विकल्प मात्रै बाँकी रहेको उनी बताउँछन्। तर त्यो समेत अब अनिश्चित बनेपछि उनी चिन्तित बनेका छन।नागरिक दैनिकबाट