Logo

पर्यटकको घमाघम उद्धार



काठमाडौं, चैत १४। सरकारले घोषणा गरेको ‘लकडाउन’का कारण देशका विभिन्न ठाउँमा अलपत्र परेका पर्यटकको उद्धार कार्य सुरु भएको छ ।

बिहीबार मात्रै सगरमाथा क्षेत्रमा पदयात्रामा निस्केका १५ जना पर्यटकलाई तारा एयरको चार्टर्ड विमानमार्फत नेपालस्थित फ्रान्सेली राजदूतावासले काठमाडौँ ल्याएको छ । त्यस्तै जोमसोममा अलपत्र परेका ४० पर्यटक र २० गाइडलाई पनि बिहीबारसम्म पोखरा ल्याइएको छ ।

अलपत्र पर्यटकलाई नेपाल पर्यटन बोर्ड, टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), स्थानीय निकाय र सम्बन्धित देशका नेपालस्थित राजदूतावाससँग समन्वयमा उद्धारको काम भइरहेको छ । टानका अनुसार स्याफ्रुबेँसीमा रहेका तीन जना फिनल्यान्डका पर्यटक र चितवनबाट दुई जना पर्यटकलाई समन्वयमा काठमाडौँ ल्याइएको छ ।

त्यस्तै मनास्लु क्षेत्रबाट त्यहाँको धार्चे मनास्लु गाउँपालिकासँगको सहकार्यमा १० जना पर्यटकको उद्धार गरिएको पनि टानले जनाएको छ । अन्नपूर्ण आधार शिविरतर्फ पदयात्रामा गएका पर्यटकको नामावली सङ्कलनको काम भने जारी छ । देशका अन्य भागमा अलपत्र परेका पर्यटकको नामावली तयार गरेर सम्पर्कमा ल्याउने प्रयास भइरहेको टानका अध्यक्ष खुमबहादुुर सुवेदीले जानकारी दिनुभयो ।

उद्धार गरेर काठमाडौँ ल्याइएका पर्यटक सम्बन्धित राजदूतावासको सम्पर्कमा आउन आग्रह गरिएको छ । कतिपय पर्यटक राजदूतावासको सम्पर्कमा आइसकेका छन् । सम्बन्धित राजदूतावासले आफ्ना देशका नागरिकलाई चार्टर्ड विमानमार्फत फिर्ता गराउने प्रबन्ध पनि गरिरहेका छन् । उद्धार गरेर ल्याइएका पर्यटकलाई आफ्नै किसिमबाट अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्नुपर्ने निर्देशन गरिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्