Logo

मन्त्री भट्टको घोषणा : जनतालाई सडकमा आउनै दिन्नौं, आवश्यक परे संकटकाल लगाउँछौं (भिडियोसहित)



काठमाडौं, १४ चैत्र । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले लगाएको लकडाउनमा जनताले राम्रो साथ र समर्थन गरेको स्पष्ट पारेका छन् । उनले भने,”सरकारको कदम एकदम सफल छ । र, यो कदमलाई सफल तुल्याउनको लागि जनताले पनि साथ दिनुपर्छ । अहिले मलाई महशुस भएको कुरा के हो भने जनताले हामीलाई साथ दिएका छन् । जनता हाम्रो साथमा छन् । त्यसैले हाम्रा कुनैपनि योजना र कार्यहरु सफल नहुने भन्ने प्रश्नै छैन् ।”

https://youtu.be/j0AHdstFiFA

बिहीबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री भट्टले यस्तो बताएका हुन् । उनले विदेशबाट आएका नेपालीहरुलाई सकेसम्म क्वारेन्टाईनमा बसिदिन आफूहरुले आग्रह गरिरहेको स्मरण गराउँदै त्यसको लागि सरकारले सोहीअनुसार कदम चालिरहेको पनि स्पष्ट पारे । उनले भने,”हाम्रो आग्रह छ, विदेशबाट आउनुभएका नेपालीहरुले सकेसम्म क्वारेन्टाईनमा बस्नुहोस् । यदि क्वारेन्टाईनमा बस्नुभएको छैन भनेपनि घरभित्रै आईसोलेट भएर बस्नुहोस् । यदि तपाईहरुको स्वास्थ्यमा केही समस्या आयो भने तत्काल जानकारी गराउनुहोस् ।”

उनले लकडाउन अवधिभरि आम उपभोक्तामा कुनै कुराको पनि कमी हुन नदिनेगरि सरकारले तयारी गरेको दाबी गरे । उनले खाद्यान्नलगायतका अत्यावश्यक वस्तु घरघरमै डेलिभर गर्नेगरि व्यवस्था पनि मिलाईएको सुनाए । उनले जनतालाई केही साता सकडमा आउनै नदिने पनि बताए । आवश्यक परे सरकारले संकटकाल घोषणा गरेर भएपनि अघि बढ्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्