Logo

आज ममाथि जतिले प्रश्न गरिरहेका छन्, तिनीहरुलाई प्रश्न गर्ने अधिकारको लागि मैले लडेको होनि : मन्त्री भट्टराई (भिडियोसहित)



काठमाडौं, २९ चैत्र । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईले आफू २०७६ साउन १५ गते जसरी सरकारमा सहभागी भएको फर्किँदा त्यसैगरि फर्किने स्पष्ट पारेका छन् । शुक्रबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री भट्टराईले यस्तो बताएका हुन् । उनले अष्टेलियाका नागरिक फर्काउन अष्टेलियन सरकारले नेपाल वायु सेवा निगमको विमान चार्टर गरेको र निगमको खातामा पैसा जम्मा भैसकेको बताए । उक्त विमान चार्टर गर्दा निगमले कुनैपनि कमिशन नखाएको उनको दाबी छ । उनले भने,”हाम्रो एकाउन्ट चेक गर्नुहोस न । ५ करोड समथिङ पैसा हाम्रो एकाउन्टमा कहाँबाट आयो त ? कमिशन एक पैसापनि दिएको छैन् । दिनुपर्ने कि नपर्ने ? भोलि हिसाब गरौंला । एजेन्ट किन चाहियो भनेर मलाई नसोध्नु । केही पनि हिनामिना भएको छैन् ।”

पत्रकार धमलाले तपाईजस्तो नेतामाथि जनताले भ्रष्टाचारको दाग नलगाउन् भनेर गरेको आग्रहमा उनले थपे,”कहाँ लागेको छ त ? कालो चश्मा लगाएर हेर्नु भएन नि त ? चश्मा त राम्रै लगाएर हेर्नुपर्यो नि । साउन १५ गते म जसरी गएको थिएँ, फर्किँदा म त्यसैगरि फर्किन्छु । केही फरक पर्दैन् । मेरो जिन्दगी यही हो । म अरु ठूलै नेताहरुले जस्तो दुःख गरें त भन्दिन्, उहाँहरुले धेरै त्याग तथा तपस्या गर्नुभएको छ ।तर, हामी जिन्दगीमा पनि हामी दुःख गरेर आएका हौं । १८ वर्षको उमेरमा जेल परेको हुँ म पनि । आज म माथि जति क्वेशन गरिरहेका छन् नि मानिसहरुले, ती मानिसहरुको क्वेशन गर्ने अधिकारको निम्ति मै लडेको हो नि । अस्ति प्रजातन्त्र दिवसको दिन मैले लेखें जुन दिन राति १२ बजे म चौतारा जेलबाट छुटेर आएको हुँ । आज मलाई क्वेशन गर्ने मान्छेहरु त्योबेला जन्मिएका पनि थिएनन् होला ।”

उनले आफूहरुजस्तो मानिस किन हतोत्साहित हुने ? भन्दै निराश नभएको पनि विश्वास दिलाए । उनले थपे,”नबिगार्नु, नडराउनु । जस्तोसुकै परीक्षामा हामी सामेल हुन तयार छौं । आज नेकपाको सरकारले, नेकपाको सिंगो पार्टीको एकताले, सिंगो मुलुकको एकताले, केपी ओलीको नेतृत्वको सरकारले कोभिड १९ विरुद्धको लडाई जित्छ । जित्नुबाहेक हामीसँग विकल्प छैन् । यदि यो सरकारले जितेन भने कसैले जित्नेवाला छैन् । देश हार्ने होईन, मानव जातिले हार्छ । त्यसकारण यति गम्भिर परिस्थितिमा खेलाँची नगरौं । हल्काफुल्का टिप्पणी कसैले नगरौं । कसैमाथि आरोप प्रत्यारोप अहिले नगरौं । समय आलानि त भोलि । मैले अघि भनें कतिकति राजनीतिक चलखेल भएका होलान, पर्दाभित्र ? आज त्यो पनि हामी नखोजौं । भोलि जनताको मैदानमा हिसाबकिताब भैहाल्छ नि । अर्को साँढे दुई वर्षपछि हामी चुनावमा जाँदैछौं त । त्यहीँ हुन्छ नि त हिसाबकिताब । हामी अपराधी रछौं ? खत्तम रछौं भने जनताले हामीलाई भोट हाल्लान् त ? नेपाली जनता लाटा छैनन् । आज नेपाली जनताले जुन धैर्यता देखाएका छन, यत्तिको धैर्यता विश्वका धेरै कम मानिसहरुले देखाएका छन् ।”

अहिले आफूहरुसँग पहिलेजस्तो कामको चाप नभएको स्पष्ट पारेका छन् । उनले भने,”किनभने अहिले सन्दर्भ पनि छैन् । विशेषगरि यही कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी सरकारका काममा हामी दैनिक व्यस्त छौं । तर, यहाँले भनेजस्तो दैनिक बैठक त हुँदैन् । आवश्यकत्ताअनुसार बैठक बस्छौं । क्याविनेटको मिटिंगपनि यो बीचमा हप्तामा दुई पटक भैरहेको छ । उच्चस्तरीय समन्वय समितिको बैठकपनि भएको छ । अरु, हाम्रा जिम्मेदारीका बैठकपनि हुन्छन् । हामी परिस्थितिको गम्भिरताका साथ विश्लेषण गर्छौं । आवश्यकअनुसार नीतिहरु लिन्छौं । कार्यान्वयन गर्दै गएका छौं ।”

तपाईले लिएका नीति कति सफल भएका छन् ? बैठकमा बस्दा समिक्षा गर्नुभएको छ भनेर पत्रकार धमलाले राखेको प्रश्नमा मन्त्री भट्टराईले भने,”हो, गरेका छौं । त्यो चाहीँ के देखिन्छ भने डेटाबाटपनि देखिन्छ । तथ्यांकबाट के देखिन्छ भने विश्वभरि कोरोना संक्रिमत मुलुक २ सयभन्दा बढि छन् । दुई सयभन्दा बढि देश कोरोना संक्रिमत हुँदा नेपाल कम प्रभावित मध्येको टप टेनमा छौं हामी । जस्तो हाम्रोमा पनि ९ वटा केश देखियो । अहिलेसम्म अप्रिय खबर छैन् । कसैको मृत्यु भएको छैन् । यद्धपी विश्वभरि ८० हजार मानिसको मृत्युको समाचार हामीले पढिरहँदा, सुनिरहँदा एउटा मानव जातिको हिसाबले हामी अत्यन्तै दुःखी हुन्छौं । हाम्रै नेपाली दाजुभाई तथा दिदिबिहीनरुपनि विभिन्न ठाउँमा बेलायतमा, अमेरिकामा यो प्रकोपबाट ज्यान गुमाउनु परेको छ । हामीलाई अत्यन्तै दुःख लागेको छ । एकपछि अर्को मृत्युको खबर आउँदा हामीपनि झस्किन्छौं । कतै हाम्रो देशमा पनि त्यस्तो समाचार नआओस भन्ने कुरामा हामी सचेत छौं । दक्षिण एशियाकै कुरा गर्नुहुन्छ भने भुटानमा अहिलेसम्म ५ जनाको संक्रमण देखिन्छ भने हामीमा ९ जना छ ।”

उनले नेपाल अलिहेपनि कोरोनाको जोखिममा रहेको स्पष्ट पारे । उनले थपे,”हामी अहिलेपनि जोखिममा छौं । किनभने विदेशबाट संक्रमित भएर आएका मानिसमध्ये एक जनाबाट हाम्रो स्थानीयमा पनि सर्यो । त्यसो भएको हुनाले अहिले चिकित्सकहरुको विश्लेषण अनुसार जब समूदायमा जान्छ त्यो एक स्टेप खतरा हो । एक स्टेप खतरामा हामी गैसक्यौं । उनले नेपाल सरकारले कोरोना परीक्षणको दायरासमेत बढाएको बताए । उनले भने, हिजो काठमाडौंबाट मात्रै नमूना परीक्षण हुन्थ्यो । तर, अहिले देशभरि १२ ठाउँबाट नमूना परीक्षण हुन्छ । र भैरहेको छ । यो दुई हप्ताको प्रगति हो । हिजो हामी दैनिक ५० जनाको परीक्षण गर्दथ्यौं भने अब हामी दैनिक १५ सय देखि दुई हजारको परीक्षण गर्ने ठाउँमा आईपुगेका छौं ।”

नेपालले कोरोनाको पहिलो नमूना परीक्षण हङकङमा गरेको सुनाउँदै उनले विगतमा सरकार चलाएकाहरुले कस्तो एड्भान्स काम गरेछन् भनेर सोच्न आग्रह गरे । अहिले स्वास्थ्योपचारमा सहभागी हुने चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुको तलब, भक्ता बढाईएको, वीमाको व्यवस्था गरेको लगायत राम्रो व्यवस्था गरिएको पनि उनले जिकिर गरे । सरकार सम्पूर्ण तयारीका साथ अघि बढेको उनको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्