Logo

कोरोनाबाट करिब २० करोड रोजगारी संकटमा



३० चैत  : संयुक्त राष्ट्रसंघको श्रम संगठनले कोरोना भाइरस महामारीका कारण केबल दोस्रो त्रैमासमा मात्र करिब २० करोड पूर्णकालीन रोजगारी समाप्त हुनसक्ने बताएको छ।

यस महामारी र यसको रोकथामका लागि विश्वभरमा जारी लकडाउनका कारण कारखाना र अन्य व्यवसायहरु नराम्रोसँग प्रभावित भएका छन्। जसका कारण विश्वभर १९ करोड ५० लाख रोजगारी संकटमा पर्नसक्ने बताइएको हो।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को अनुमान भाइरसको प्रभावको आँकलनमा आधारित रहेको छ। योभन्दा पहिले आईएलओले १८ मार्चमा कयौँ रोजगारी गुम्ने अनुमान लगाएको थियो। त्यो अनुमानको तुलनामा हालको अनुमान कयौँ गुणा अधिक रहेको बताइएको छ।

आईएलओका महानिर्देशक गार्ड राइडरका अनुसार, यो तथ्यांकले स्थिति कति भयावह छ भन्ने कुरालाई देखाउँछ। विश्वभरका कामदारहरु जारी संकटका कारण नराम्रोसँग प्रभावित भएका छन्। पूर्ण वा आंशिक लकडाउनका कारण करिब २ अर्ब ७० लाख कामदारहरु प्रभावित भएका छन्। यो विश्व कार्यशक्तिको करिब ८१ प्रतिशत हो। यसमध्ये होटल र खाद्य क्षेत्र, निर्माण र खुद्रा क्षेत्रमा काम गर्ने करिब एक अर्ब २५ लाख मानिसहरु सबैभन्दा धेरै प्रभावित भएका छन्।

कोरोना भाइरसबाट मर्नेहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ। पछिल्लो तथ्यांक अनुसार, भाइरसको महामारीबाट एक लाखभन्दा धेरै मानिसहरुको मृत्यु भइसकेको छ भने करिब १८ लाख जना संक्रमित भएका छन्। यसैगरी ४ लाख ४ हजार ३१ जना निको भएर फर्किसकेका छन्।

भाइरसबाट विश्वभरमा भएको मृत्युमा ५० प्रतिशत मृत्यु केबल ३ देशमा मात्र भएको छ। अमेरिका, स्पेन र इटालीमा मिलाएर कुल करिब ५४ हजार मानिसहरुको मृत्यु भएको छ। मेरोलागानीबाट



प्रतिक्रिया दिनुहोस्