काठमाडौँ, २ वैशाख : सङ्घीय संसद्का सभामुख अग्निप्रसाद सापकोटाले सातै प्रदेशका सभामुख र उपसभामुखहरुसँग छलफल गरेका छन् ।
सभामुख सापकोटाले नोभल कोरोना भाइरसका कारण सिर्जित विषम परिस्थितिमा सातै प्रदेशमा परेको प्रभाव र भइरहेको तयारीका विषयमा फोनबाट छलफल गरेका हुन् । लकडाउनपछि प्रदेशको समग्र अवस्था, कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेशले गरिरहेका काम, स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीको उपलब्धता र सङ्घ, प्रदेश र स्थानीयतहबीचको समन्वय, आगामी दिनमा लिइने नीतिका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
छलफदमा सभामुख सापकोटाले प्रदेशमा विदेशबाट आएका नागरिकको अवस्था, उनीहरुलाई राखिएको क्वारेन्टाइन तथा अन्य व्यवस्थापन, स्वास्थ्यकर्मी तथा औषधिको उपलब्धता, परीक्षण र न्यून आय भएका र दैनिक ज्यालादारी मजदूरका लागि खाद्यान्नको उपलब्धताका विषयमा विस्तृत जानकारी लिए ।
प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि यथेष्ठ व्यवस्थापन गरिएको र सङ्घीय सरकारले घोषणा गरेको लकडाउन पालनामा कडाइ गरिएको बताए । प्रदेश नं २ का सभामुख सरोजकुमार यादवले भारतसँगको सीमामा थप कडाइका लागि सङ्घीय सरकारका गृहमन्त्रालयमार्फत समन्वय गरिदिन सङ्घीय संसद्का सभामुख सापकोटासँग आग्रह गरेका थिए । खुला सीमाका कारण प्रदेश नं २ मा जोखिम बढ्न सक्नेतर्फ सतर्क रहेको यादवको भनाइ छ ।
वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशमा लकडाउन पालनामा विशेष जोड दिएका थिए। गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सचेततापूर्वक क्वारेन्टाइनमा बस्ने र परीक्षणको काम भइरहेको बताए ।
प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले लकडाउनको पालनालाई कडाइ गरिएको जानकारी गराएका थिए । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले कर्णाली प्रदेशमा स्वास्थ्य सामग्री र जनशक्तिको अभाव रहेको बताए ।
सुदूरपश्चिम प्रदेशका अर्जुनबहादुर थापाले लकडाउनको शुरुआती दिनमा भारतमा फर्किएका नागरिकलाई व्यवस्थापनमा कठिनाइ भए पनि हाल सहज भएको बताए ।
सभामुख सापकोटाले सातै प्रदेशका उपसभामुखसँग पनि छलफल गरी प्रदेशको वस्तुस्थितिबारे जानकारी लिएका छन् । टेलिफोन छलफलमा उपसभामुखहरुले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको समन्वयमा काम हुनुपर्ने धारणा राखेका थिए ।
सभामुख सापकोटाले प्रदेश नं १ का उपसभामुख सरस्वती पोखरेल, प्रदेश नं २ का उपमा देव, वाग्मती प्रदेशका राधिका तामाङ, गण्डकी प्रदेशका सिर्जना शर्मा, प्रदेश नं ५ का कृष्णी थारु, कर्णालीका पुष्पा घर्ती र सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला बडालसँग छलफल गरेको सचिवालयले जानकारी दिएको छ ।
सभामुख र उपसभामुखसँगको छलफलका क्रममा आएका विषयलाई सङ्घीय सरकारसँग समन्वय गरी समस्या समाधानका लागि सहजीकरण गरिने सभामुख सापकोटाले बताए ।