काठमाडौं, ४ बैशाख । डा. माधवी भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचित प्रधानमन्त्रीको राम्रो अधिनायकवाद प्रयोग गरिरहेको गम्भिर आरोप लगाएकी छिन् । र, उनले अहिले ओली सरकारको विकल्प नेकपाभित्र तयार हुनुपर्नेसमेत आफ्नो धारणा राखेकी छिन् । बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले भनिन्-“विश्वमा अहिले कम्तिमा ५० वटा जति देशमा निरंकुशता छ । अधिनायकवाद छ । क्युवा, उत्तर कोरिया, यी देशहरुको नेताको तुलना गर्ने हो भने केपी ओलीको चरित्र र कार्यशैली ठ्याक्कै मिल्छ। देशलाई निर्वाचनमार्फत अधिनायकवादको प्रयोग भूमि बनाउन उहाँ सफल हुनुभएको छ । त्यो चाहीँ म निर्धक्कका साथ भन्न सक्छु ।”
तर, अनेरास्ववियूका अध्यक्ष ऐन महरले भट्टको तर्कलाई हाँस्यपस्पदको संज्ञा दिए । उनले भने,”देशमा संविधान छ । हामी सबै मिलेर संविधान ल्याएका छौं । हामी त्यही संविधानबाट शासित भैरहेका छौं । संविधानबमोजिम यो सरकारले आफ्ना कामहरु र कार्यसम्पादन गरिरहेको छ । अब दिनदाहाडै त्यो नदेख्ने, आँखामा पट्टी बाँधेर हेरेपछि त्यो मेरो केही भन्नु छैन् । अधिनायकवाद भयो, निरंकुश भयो, कम्युनिष्ट शासन ल्याउन खोजियो भनेर तर्क तथा वितर्क गर्न सकिन्छ । लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेको नै अभिव्यक्ति स्वतन्त्रता हो । तर, आफ्नो अभिव्यक्तिलाई तर्क र तथ्यका आधारमा पुष्टि गर्न सक्नुपर्छ ।”
उता, भट्टले अहिले स्वास्थ्य सामग्री खरिद प्रकरणमा व्यापक भ्रष्टाचार भएको कुरा उठेको सुनाउँदै भनिन्,”प्रधानमन्त्रीले हालैको दोस्रो टेलिभिजन सम्बोधनमा उहाँले के भन्नुभयो भने सबै कामहरु कानूनसम्मत भएका छन् । देशमा प्रजातान्त्रिक शासन व्यवस्थामा शक्ति सन्तुलन हुन्छ । भ्रष्टाचार भएको वा नभएको भनेर हेर्ने अन्य निकायहरु छन् । प्रधानमन्त्रीले यो कुनै जंगबहादुरको शासन होईन, जहाँ प्रधानमन्त्रीले कानूनभन्दा माथि बसेर भ्रष्टाचार भएको छ वा छैन भन्न सकोस । संसारका उत्कृष्ट तानाशाहहरुले खोक्रो राष्टवादको नारा दिन्छन् । सुशासनको शब्दावाली प्रयोग गर्छन् । र, राष्टियताको नाटक मञ्चन गर्छन् । केपी ओली त्यही बाटोमा हुनुहुनछ । जो, विश्वका अधिकांश तानाशाहरुले गर्छन् ।”
उनले अहिले देशमा लोकतन्त्रमाथि थ्रेट भैरहेको र भ्रष्टाचारको संरक्षण भैरहेको समेत गम्भिर आरोप लगाईन् । उनले भनिन्,”धेरै कोणबाट भ्रष्टाचार भएको पुष्टि भैसक्दापनि, जसरी अहिले मेडिकल सामग्री खरिद भयो, त्यसमा चाहीँ ७ करोडको खेल भैरहेको छ । र, त्यसलाई चाहीँ जोगाउन लागिएको छ भनेर तपाईहरुजस्ता सञ्चारकर्मीहरुले बारम्बार प्रश्न उठाउनुभएको छ । सरकारले त भन्न सक्नुपर्दथ्यो कि ल प्रश्न उठेको छ । यसमा निश्पक्ष रुपमा छानबिन गरौं भनेर । किन भन्न सक्दैन् यो सरकारले ? कुनै देशको प्रधानमन्त्रीले कानून हातमा लिएर यहाँ भ्रष्टाचार भएको छैन् भनेर भन्न मिल्छ ?”
भट्टले वर्तमान प्रधानमन्त्री ओलीले खोपीभित्र बसेर शासन गरिरहेको भन्दै कडा आपत्ति जनाईन् । उनले भनिन्,”प्रधानमन्त्रीलाई दुई चार जना भ्रष्टाचारीले सुनेका छन् । दई चार जना तस्करीले सुन्छन् । रातारात थोत्रो बोराको झोला बनाएर मुग्लिन हुँदै घर फर्किने युवाहरुले प्रधानमन्त्रीलाई सुनेका छैनन् । प्रधानमन्त्रीलाई गोकुल बाँस्कोटाले देखेका छन् । प्रधानमन्त्रीलाई विष्णु पौडेलले देखेका छन् । प्रधानमन्त्रीलाई ओम्नी समूहले देखेको छ । उनले अहिले सर्वदलीय संयन्त्रसमेत आवश्यक रहेकोले तत्काल गठन गर्न माग गरिन् ।”