सुर्खेत, बैशाख ५ । दुई साताअघि कर्णाली प्रदेश सरकारले हेलिकप्टर चार्टर गर्यो। कोरोनाको त्रासपछि दुर्गममा औषधि पुर्याउन भन्दै मन्त्रीहरू हेलिकप्टरमा उडे। हुम्ला, डोल्पा र मुगुमा केही थान पीपीई सेट, मास्क, सिटामोल र स्यानिटाइजर बाँडियो।
केही स्वास्थ्य सामग्री छाडेर मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकासमन्त्री दल रावल सुर्खेत फिर्ता भए। तर, मन्त्रीहरूले हेलिकप्टरमा छाडेको त्यही औषधि र स्वास्थ्य सामग्री गाउँसम्म पुर्याउन अहिले स्थानीय तहलाई हम्मेहम्मे परेको छ।
सडक नपुगेको र हेलिकप्टरमा औषधि ढुवानी गर्न नसक्ने दुर्गमका स्थानीय तहले प्रदेश सरकारले बाँडेको औषधि गाउँ लैजान सकेका छैनन्।
केही उपाय नलागेपछि हुम्ला र डोल्पाका केही स्थानीय तहले खच्चड र मान्छेलाई बोकाएर औषधि ढुवानी गर्न थालेका छन्। मन्त्रीहरूले हेलिकप्टरमा लगेको औषधि पर्याप्त नहुँदा केही स्थानीय तहले भने आफैंले औषधि खरिद गरी खच्चडमा ढुवानी गरिरहेका हुन्।
मन्त्रीले हेलिकप्टरमा लगेको औषधि नाम मात्राको भएको स्थानीय तहको गुनासो छ। अधिकांश तहले त्यो औषधि पाएका पनि छैनन्। मन्त्रीले बाँडेको औषधि सदरमुकाममै थन्किएपछि दुर्गमका स्थानीय तह खच्चडबाटै औषधि ढुवानी गर्न बाध्य भएका हुन्।
मन्त्रीहरू हेलिकप्टरमा सदरमुकामसम्म पुगे। तर, हुम्लाको नाम्खा गाउँपालिकाले तीन दिन लगाएर खच्चडबाट औषधि गाउँ पुर्याएको छ। अन्नपूर्ण पोष्ट्बाट