Logo

मस्जिदमा कोरोना संक्रमित भारतीय मुस्लिम धर्मगुरु भेटिन थालेपछि…



काठमाडौं, ५ वैशाख । आज उदयपुरमा भेटिएका १२ जना कोरोना संक्रमित भारतीय नागरिक हुन् । उनीहरु त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा बस्दै आएकामा कोरोना संक्रमण चेकजाँचका क्रममा पत्ता लागेको थियो ।

इपियोमिडोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले उनीहरु एकै ठाउँमा बसेकाले रोग फैलिएको नेपाल टेलिभिजनलाई बताएका छन् । उनीहरु मस्जिदमा विराटनगर हुँदै पुगेको बुझिएको छ । तर, पुगेको मितिबारे भने आशंका पैदा भएको छ ।

प्रारम्भिक अनुसन्धानबाट उनीहरु सप्तरीबाट विराटनगर हुँदै उदयपुर पुगेको बताइएको छ । सप्तरीको बोदेबर्साइन नगरपालिका ५ जाँजरमा फागुन ३ देखि ५ सम्म भएको धार्मिक सम्मेलनमा आएको दाबी गरेका छन् । उक्त भेलामा दिल्लीको निजामुद्दीनस्थित तललिगी जमातका धर्मगुरु प्रमुख वक्ता थिए । निजामुद्दीन भारतमा कोरोना संक्रमण फैलाउने मुख्य कारकको रुपमा मानिएको छ ।

१२ जना भारतीय धर्मगुरुहरु फागुनमा नेपाल प्रवेश गरेकोमा आशंका पैदा भएको छ । स्रोतका अनुसार उनीहरु दिल्लीको धार्मिक भेलामा सहभागी भए नभएकोबारे अनुसन्धान बढाइएको छ ।

यसअघि वीरगञ्जस्थित छपकैयाको मस्जिदमा ३ जना भारतीय धर्मगुरु संक्रमित भेटिएका थिए । योसँगै नेपालमा भेटिएका संक्रमितहरुमा नेपालीभन्दा भारतीय नागरिकको संख्या बढी देखिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्